Techie IT
KTM Post
मंगलबार, १६ असार, २०८३

डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण, सेवाबाट हटाउने तयारी


काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका चार कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै बिदा समाप्त भएपछि आफ्नो पदाधिकार रहेको कार्यालयमा हाजिर नभई विदेशमै बसोबास गरिरहेकाले उनीहरूमाथि कानुनी प्रक्रिया अघि बढाएको हो ।

उनीहरूले अस्थायी, स्थायी आवासीय अनुमति र डाइभर्सिटी भिसा (डीभी) लिएको पाइएको मन्त्रालयको सूचनामा उल्लेख छ । निजामती कर्मचारीले पदमा बहाल रहँदै विदेशी मुलुकको आवासीय अनुमति लिन वा त्यस निम्ति आवेदन समेत दिन नपाइने कानुनी व्यवस्था छ ।

स्वीकृत बिदा समाप्त भएपछि ३० दिनभित्र कार्यालयमा उपस्थित हुनुपर्ने नियम छ । तर, अनुपस्थित रही निजामती सेवा ऐनविपरीतको कार्य गरेकाले उनीहरूलाई स्पष्टीकरणको सोधिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, निजामती सेवा ऐन, २०४९ बमोजिम उनीहरूलाई भविष्यमा सरकारी सेवाका निम्ति समेत अयोग्य ठहरिने गरी कारबाही अघि बढाउनुपर्ने अवस्था देखिएकाले १५ दिनभित्र चित्तबुझ्दो आधार र प्रमाणसहित सफाइ पेस गर्न भनिएको छ ।

मन्त्रालयले लामो समयदेखि सम्पर्कविहीन रहेका अरू कर्मचारीको अवस्थाबारे समेत अध्ययन तथा खोजी कार्यलाई तीव्रता दिइएको जनाएको छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट