डोनाल्ड ट्रम्प र सी जिनपिङबीच बेइजिङ शिखर वार्ता: ठोस सम्झौता नभए पनि “ऐतिहासिक” दाबी
काठमाडौं । डाेनाल्ड ट्रम्प र सी जिङ पिङबीच चीनको राजधानी बेइजपङमा भएको दुईदिने उच्चस्तरीय शिखर वार्ता कुनै ठोस सम्झौताविना सम्पन्न भएको छ। तर दुवै नेताले यसलाई “ऐतिहासिक”, “सफल” र “रणनीतिक महत्वको” भेटवार्ताका रूपमा चित्रण गरेका छन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार व्यापार, इरान, ताइवान, ऊर्जा सुरक्षा तथा विश्व आपूर्ति प्रणालीसँग सम्बन्धित विषय वार्ताको केन्द्रमा रहेका थिए। अमेरिकी राष्ट्रपति ट्रम्पले वार्तापछि चिनियाँ राष्ट्रपति सीसँगको सम्बन्धलाई “विशेष” भन्दै विश्व राजनीतिका धेरै जटिल विषयमा समझदारी बनेको दाबी गरेका छन्।
चिनियाँ सरकारी सञ्चारमाध्यमले भने सीले यस भेटलाई “इतिहास निर्माण गर्ने संवाद” का रूपमा व्याख्या गरेको जनाएको छ। यद्यपि वार्तापछि कुनै संयुक्त सम्झौता, व्यापारिक प्याकेज वा सुरक्षा सहमति सार्वजनिक गरिएको छैन। वार्ताको सबैभन्दा संवेदनशील पक्ष स्ट्रेट अफ हर्मुज र इरानसँग सम्बन्धित थियो। ट्रम्पले अमेरिकी सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा सीले इरानलाई सैन्य उपकरण नदिने प्रतिबद्धता जनाएको बताएका छन्।
साथै चीनले होर्मुज जलमार्ग खुला राख्न चाहेको र अमेरिकी तेल खरिद बढाउन इच्छुक रहेको पनि ट्रम्पको दाबी छ। विश्व ऊर्जा आपूर्तिको ठूलो हिस्सा ओहोरदोहोर गर्ने होर्मुज जलमार्ग हालको तनावका कारण अन्तर्राष्ट्रिय चासोको केन्द्रमा छ। चीनले उक्त मार्गमा सैन्यीकरण वा अतिरिक्त शुल्कको विरोध गरेको अमेरिकी अधिकारीहरूको भनाइ छ। यसले चीन विश्व ऊर्जा सुरक्षामा आफ्नो भूमिकालाई थप सक्रिय बनाउन खोजिरहेको संकेतका रूपमा हेरिएको छ। वार्ताका क्रममा ताइवानको मुद्दा पनि उठेको बताइएको छ।
चीनले ताइवानलाई आफ्नो आन्तरिक विषय भन्दै अमेरिकी हस्तक्षेपप्रति चेतावनी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। ट्रम्प प्रशासनले भने यस विषयमा सार्वजनिक रूपमा धेरै टिप्पणी नगरे पनि दुवै शक्तिबीचको रणनीतिक अविश्वास अझै कायम रहेको संकेत देखिएको छ।
विश्लेषकहरूले भने यो भ्रमणलाई “सम्झौताभन्दा बढी शक्ति प्रदर्शन” का रूपमा व्याख्या गरेका छन्। पछिल्ला वर्षहरूमा व्यापार युद्ध, प्रविधि प्रतिस्पर्धा र सैन्य तनावले चिसिएको अमेरिका–चीन सम्बन्धलाई पूर्ण टकरावबाट रोक्न दुवै पक्ष संवादको बाटोमा फर्किएको उनीहरूको निष्कर्ष छ। यसैबीच, शिखर वार्तापछि अन्तर्राष्ट्रिय तेल बजारमा हलचल देखिएको छ।
तेलको मूल्यमा वृद्धि भएको र लगानीकर्ताहरूले अमेरिका–चीन सम्बन्ध तथा इरान संकटको आगामी दिशालाई नजिकबाट हेरिरहेको अन्तर्राष्ट्रिय आर्थिक सञ्चारमाध्यमहरूले जनाएका छन्।
क्याटेगोरी : अन्तराष्ट्रिय













प्रतिक्रिया