निर्माणको अन्तिम चरणमा ४८.८ मेगावाटको खिम्ती–२, आगामी दशैंअघि नै बिजुली बाल्ने तयारी
काठमाडौं । दोलखा र रामेछापको सीमाना हुँदै बग्ने खिम्ती नदीमा निर्माणाधीन ४८.८ मेगावाट क्षमताको खिम्ती–२ जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ। आयोजना प्रवर्द्धक पिपुल्स इनर्जी लिमिटेडले आगामी दशैंअघि नै विद्युत् उत्पादन सुरु गर्ने तयारी गरेको जनाएको छ।
हालसम्म आयोजनाको समग्र भौतिक प्रगति ८५ प्रतिशत पुगेको छ। आयोजनाअन्तर्गत ७ किलोमिटर लामो सुरुङ निर्माण सम्पन्न भइसकेको छ भने बाँधस्थलका सिभिल संरचनाको काम पनि सकिएको छ। अहिले विद्युत्गृह निर्माण, हाइड्रो–मेकानिकल तथा इलेक्ट्रो–मेकानिकल उपकरण जडानको काम तीव्र रूपमा अघि बढाइएको छ।
आयोजनाका अनुसार सुरुङभित्रको अन्तिम लाइनिङ, कंक्रिटिङ तथा सपोर्टको काम बाँकी छ। साथै विद्युत्गृहमा जडान गरिएका उपकरणहरूको परीक्षण तथा सञ्चालनपूर्व तयारी भइरहेको छ। हालसम्म कुल लागतको करिब ७५ देखि ८० प्रतिशत खर्च भइसकेको जनाइएको छ।
उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न आवश्यक १३२ केभी प्रसारण लाइन तथा टावर निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ। यद्यपि बाढी, कोभिड–१९ महामारी तथा विभिन्न प्राविधिक चुनौतीका कारण आयोजना निर्माण निर्धारित समयभन्दा पछि धकेलिएको थियो।
संशोधित कार्यतालिका अनुसार सन् २०२६ मार्च (वि.सं. २०८२ चैत) भित्र व्यावसायिक उत्पादन सुरु गर्ने लक्ष्य राखिएको भए पनि उक्त समयसीमा पूरा हुन सकेन। अब भने आगामी दशैंअघि नै विद्युत् उत्पादन सुरु गर्ने लक्ष्यसहित काम भइरहेको कम्पनीले जनाएको छ।
रन अफ रिभर प्रकृतिको यो आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) २०७४ असोज १४ गते सम्पन्न भएको थियो। दोलखाको जिरी र रामेछापको ठोसे क्षेत्रमा अवस्थित यो आयोजना निजी क्षेत्रबाट निर्माण भइरहेका ठूला जलविद्युत् आयोजनामध्ये एक मानिन्छ।
आयोजनाको प्रारम्भिक लागत ८ अर्ब ६४ करोड रुपैयाँ अनुमान गरिएको थियो। तर निर्माणमा भएको ढिलाइका कारण लागत बढेर करिब १० अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ। आयोजना निर्माणका लागि सानिमा बैंकको नेतृत्वमा सात बैंक तथा वित्तीय संस्थाले लगानी गरेका छन्।
आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनी सीडब्लुटीडब्लुले २०७४ मंसिरमा लिएको थियो। तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिए पनि विभिन्न कारणले समयमै निर्माण सम्पन्न हुन सकेको छैन।
क्याटेगोरी : समाचार













प्रतिक्रिया