रास्वपा बागमतीको सभापतिका लागि यी हुन् ४ प्रतिस्पर्धी
हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको सभापति पदका लागि चार जनाबीच प्रतिस्पर्धा हुने भएको छ। पहिलो प्रदेश अधिवेशनअन्तर्गत सभापति चयनका लागि एक सांसदसहित चार जना नेताले उम्मेदवारी कायम राखेका छन्।
मंगलबारदेखि हेटौँडामा जारी अधिवेशनमा सुरुमा सभापति पदका लागि पाँच जनाले उम्मेदवारी दिएका थिए। तर अन्तिम समयमा बदन भण्डारीले उम्मेदवारी फिर्ता लिएपछि चार जना मात्रै चुनावी मैदानमा रहेका छन्।
सभापति पदका लागि नुवाकोट–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य अच्युतम लामिछाने, मकवानपुरका उत्सव अर्याल, धादिङका कृष्णमान शाक्य र रामेछापका हरिबहादुर खत्री प्रतिस्पर्धामा छन्।
लामिछाने रास्वपा बागमती प्रदेशका निवर्तमान सभापति हुन् भने अर्याल प्रदेश कमिटीका प्रवक्ताको जिम्मेवारीमा छन्। यस्तै, शाक्य पार्टीको केन्द्रीय प्रशिक्षण विभागका सदस्य हुन्। खत्री भने यसअघि पार्टीको कुनै औपचारिक जिम्मेवारीमा नरहेका नेताका रूपमा चुनावी मैदानमा उत्रिएका छन्।
अधिवेशनअन्तर्गत सदस्य पदका लागि ८८ जनाको उम्मेदवारी दर्ता भएको थियो। यद्यपि, मध्यरातिदेखि सुरु गर्ने तयारी गरिएको मतदान प्रक्रिया विवादका कारण प्रभावित बनेको छ र निर्वाचन प्रक्रिया अन्योलमा परेको छ।
पार्टी विधानअनुसार प्रदेश नेतृत्व चयन दुई चरणमा हुनेछ। पहिलो चरणमा सभापति र प्रदेश समिति सदस्यहरूको निर्वाचन हुनेछ भने निर्वाचित सदस्यहरूमध्येबाट दोस्रो चरणमा पदाधिकारी चयन गरिने व्यवस्था छ।
रास्वपाको बागमती प्रदेश समिति ६५ सदस्यीय रहने व्यवस्था गरिएको छ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया