Techie IT
KTM Post
आईतबार, ३१ जेठ, २०८३

पहिलो म्याचिङ लिष्टबाट छात्रवृत्तिका लागि तीन हजार ५१ जना विद्यार्थी भर्ना


काठमाडौं । काठमाडौँ महानगरपालिकाभित्रको छात्रवृत्ति छनोट परीक्षाको पहिलो म्याचिङ् लिष्टबाट तीन हजार ५१ जना विद्यार्थी छात्रवृत्ति कोटामा भर्ना भएका छन् ।

शैक्षिक २०८३/८४ का लागि कक्षा ११ र १२ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीमध्ये छात्रवृत्ति छनोट परीक्षाबाट योग्यता क्रमको अन्तिम सूचीमा प्रकाशित नामबाट मनोनयन सूची (म्याचिङ लिष्ट) मा परेका तीन हजार ७३५ विद्यार्थी रहेका कामपा शिक्षा अधिकृत एवं परीक्षा समितिका सदस्य सचिव रामचन्द्र खड्काले जानकारी दिए ।

यसरी भर्ना हुने विद्यार्थीमध्ये एक हजार ९०१ जना विज्ञान विषयमा, व्यवस्थापनमा एक हजार १११ जना, कानुनमा ३४ जना मानविकीमा पाँच जना विद्यार्थी छन् । विद्यालयहरुले भर्ना भएका विद्यार्थीको विवरण सफ्टवेयरमा प्रविष्ट गराएपछि रिक्त हुन आएका बाँकी सिटका आधारमा आज परीक्षा समितिले म्याचिङ लिष्टको दोस्रो सूचीमा ४८६ जनाको नाम प्रकाशन भएको खड्काले भने ।

सदस्य सचिव खड्काका अनुसार दोस्रो सूचीमा विज्ञान विषयका लागि ३२३ जना, व्यवस्थापन विषयका लागि १४५ जना, कानुनका लागि १५ जना, मानविकीका लागि एक जना र शिक्षाका लागि दुई जना विद्यार्थीको नाम सिफारिस भएको छ ।

विद्यार्थीले आवेदन दिँदा रोजेको विषय र शिक्षण संस्थाको प्राथमिकता क्रमका आधारमा साधारण एवं आरक्षण र समूहगत रूपमा तोकिएको सिट सङ्ख्याका आधारमा जेठ २२ गतेको परीक्षा समितिको निर्णयअनुसार सूची प्रकाशन गरिएको हो ।

मनोनयनमा परेका परीक्षार्थीहरूले कामपाको छात्रवृत्तिसम्बन्धी पोर्टल इन्ट्रान्स डट काठमाडौँ डट जीओभी डट एनपी मा छात्रवृत्ति परीक्षाको रोल नम्बर (कामपाबाट प्रदान गरिएको), जन्म मिति र पासवर्ड ९मोबाइल वा इमेलमा प्राप्त० प्रयोग गरेर मनोनयन पत्र प्रिन्ट गर्न सकिन्छ । यो मनोनय पत्र लिएर असार ३ गतेभित्र तोकिएको शिक्षण संस्थामा अनिवार्य रूपमा भर्ना भइसक्नुपर्नेछ । तोकिएको समयसीमा भित्र भर्ना नभएमा सम्बन्धित शिक्षण संस्थामा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थीको दाबी स्वतः रद्द हुने समितिले प्रकाशन गरेको सूचनामा उल्लेख छ । समितिले असार ३ गतेपछि तेस्रो सूची निकाल्ने तयारी गरेको छ ।

यस वर्षका लागि १४५ वटा शिक्षण संस्थाका लागि चार हजार ८५७ कोटा निर्धारण गरिएको थियो । यसमा विज्ञान विषयका लागि दुई हजार ३७१ कोटा छन् । व्यवस्थापनमा एक हजार ५४९, शिक्षामा सात, मानविकीमा ४९ र कानुनमा ७५ कोटा निर्धारित छन् । यी विषयमा १८ हजार ३५८ जना, दुई हजार ३८२ जना, ११० जना, ४६३ जना, ६२१ जना विद्यार्थी भर्नालाई आधार मानेर कोटा निर्धारण गरिएको हो ।

छात्रवृत्ति छनोटका लागि जेठ १७ गते लिइएको परीक्षाको १८ गते प्रारम्भिक योग्यता सूची २१ गते अन्तिम सूची प्रकाशित भएको थियो ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट