फिफा विश्वकप २०२६ का लागि नेपाल टेलिकमको विशेष टिभी प्याकेज, समस्या आए २४सै घण्टा ग्राहक सेवा उपलब्ध
काठमाडौं । नेपाल टेलिकमले फिफा विश्वकप २०२६ का खेलहरूको प्रत्यक्ष प्रसारण हेर्न चाहने ग्राहकहरूका लागि विशेष ‘फिफा वर्ल्डकप २०२६ टिभी प्याकेज’ उपलब्ध गराएको छ। कम्पनीले प्याकेज खरिद वा सेवासम्बन्धी कुनै समस्या तथा गुनासो भए २४सै घण्टा ग्राहक सहायता सेवा सञ्चालनमा रहने जनाएको छ।
टेलिकमका अनुसार प्याकेज खरिद गर्ने क्रममा समस्या आएमा वा सेवासम्बन्धी गुनासो भएमा ग्राहकहरूले १९८ नम्बरमा सम्पर्क गर्न सक्नेछन्। साथै, गुनासो तथा सेवा सहजीकरणका लागि वैकल्पिक नम्बर ०१–५९७००१९ पनि उपलब्ध गराइएको छ।
नेपाल टेलिकमका प्रवक्ता कमल लामिछानेका अनुसार प्राप्त गुनासोहरूलाई प्राथमिकताका साथ सम्बोधन गर्ने व्यवस्था गरिएको छ।कम्पनीले उपलब्ध गराएको ‘फिफा वर्ल्डकप २०२६ टिभी प्याकेज’ अन्तर्गत एनटिटिभीका ग्राहकहरूले ९९९ रुपैयाँमा विश्वकपका सम्पूर्ण रोमाञ्चक खेलहरूको प्रत्यक्ष प्रसारण हेर्न सक्नेछन्।
यस्तै, वार्षिक १०० एमबिपिएस वा सोभन्दा माथिको इन्टरनेटसहितको प्रिमियम आईपीटिभी प्याकेज नयाँ जडान गर्ने, नवीकरण गर्ने वा कम गतिको प्याकेजबाट अपग्रेड गर्ने ग्राहकहरूले यो प्याकेज बोनसस्वरूप निःशुल्क प्राप्त गर्नेछन्।बोनस प्याकेज सक्रिय गर्न ग्राहकहरूले आफ्नो मोबाइलबाट *१४१६# डायल गरी ४ नम्बर छनोट गर्नुपर्नेछ। त्यसपछि प्राप्त निर्देशनअनुसार सेटटप बक्सको म्याक एड्रेस उपलब्ध गराउनुपर्ने टेलिकमले जनाएको छ।
त्यसैगरी, एनटिटिभी प्रयोगकर्ताले टेलिभिजनमा हिमालय स्पोर्ट्स च्यानल चयन गर्दा विशेष इन्ट्री स्क्रिन देखिनेछ। उक्त स्क्रिनमा नेपाल टेलिकमको प्रिपेड वा पोस्टपेड मोबाइल नम्बर प्रविष्ट गरेपछि ओटीपी प्राप्त हुनेछ।प्राप्त ओटीपी टेलिभिजन स्क्रिनमा प्रविष्ट गरेपछि ग्राहकको मोबाइल ब्यालेन्सबाट ९९९ रुपैयाँ कट्टा भई प्याकेज तत्काल सक्रिय हुनेछ।नेपाल टेलिकमले नजिकको ग्राहक सेवा केन्द्रमार्फत पनि उक्त प्याकेज सक्रिय गर्न सकिने जनाएको छ।
क्याटेगोरी : समाचार












प्रतिक्रिया