Techie IT
KTM Post
बिहीबार, १८ असार, २०८३

विद्युत् सेवामा अतिरिक्त शुल्क लिए हटलाइनमा उजुरी गर्न ऊर्जामन्त्रीको आग्रह


काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालय तथा मातहतका निकायबाट सेवा लिँदा तोकिएको शुल्कभन्दा बढी रकम मागिए प्रमाणसहित तत्काल उजुरी गर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।

मन्त्री श्रेष्ठले मन्त्रालयको हटलाइन नम्बर ११५१ मार्फत गुनासो दर्ता गर्न सकिने जानकारी दिँदै सेवा प्रवाहलाई पारदर्शी, उत्तरदायी र भ्रष्टाचारमुक्त बनाउन नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको बताए।

उनका अनुसार कुनै कर्मचारी वा निकायबाट अतिरिक्त रकम मागिएको पाइए प्रमाणसहित जानकारी गराएमा आवश्यक छानबिन गरी कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइनेछ।

पदभार सम्हालेपछि गुनासो सुनुवाइलाई उच्च प्राथमिकतामा राख्दै आएका मन्त्री श्रेष्ठले सेवा सुधार तथा सुशासन प्रवर्द्धनका लागि विभिन्न सुधारात्मक पहलहरू अघि बढाएका छन्। मन्त्रालयका अनुसार हटलाइन सेवामार्फत हालसम्म १३ हजार ८८ वटा गुनासो सम्बोधन भइसकेका छन्।

प्राप्त गुनासोमध्ये विद्युत् आपूर्तिमा अवरोध, ट्रान्सफर्मर बिग्रिने समस्या, विद्युत् पोल तथा मिटर अभाव, भूमिगत विद्युत् जडानमा ढिलाइ लगायतका विषय प्रमुख रहेका छन्।

मन्त्रालयले सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ बमोजिम ‘सुशासन एकाइ’ गठन गरी सेवा प्रवाह, कर्मचारीको कार्यसम्पादन तथा स्रोत–साधनको उपयोगबारे नियमित अनुगमन गरिरहेको जनाएको छ।

डेलिभरी–आधारित शासन प्रणालीलाई प्राथमिकतामा राखेको मन्त्रालयले सेवा प्रवाहलाई थप प्रभावकारी, छिटोछरितो र नागरिकमैत्री बनाउने लक्ष्यसहित उत्तरदायित्व अभिवृद्धिमा जोड दिइरहेको जनाएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट