सेफ सन्तोष साह हाजिरी जमानीमा रिहा
काठमाडौं । सेफ सन्तोष साह हाजिरी जमानीमा छुटेका छन् । काठमाडौंमा रेष्टुरेन्ट खरिदका क्रममा दिइएको चेक अनादर तथा ठगी कसुरमा शनिबार पक्राउ परेका साह आइतबार हाजिरी जमानीमा रिहा भएका हुन्।
पीडित पक्षसँग लेनदेन मिलेर चेक बमोजिमको रकम प्राप्त भइसकेपछि शाहलाई रिहा गरिएको हो ।
उपत्यका अपराध अनुसन्धान कार्यालयले शाहलाई धनुषाबाट पक्राउ गरी काठमाडौं ल्याएको थियो । थप अनुसन्धानका लागि उनलाई जिल्ला प्रहरी परिसर, भद्रकालीमा बुझाइएको थियो ।
प्रहरीले यसै प्रकरणमा सोही रेष्टुरेन्टका अर्का सञ्चालक नारायण साह सुडीलाई पनि पक्राउ गरेको थियो । गैरीधारास्थित रेष्टुरेन्टसँग सम्बन्धित विवादमा सकुन्तला अधिकारी थापाले मुद्दा दर्ता गराएकी थिइन् ।
साहलाई हिजो हाजिरी जमानीमा छाडिएको जनाइएको छ। अनुसन्धानका क्रममा खोजी हुँदा उपस्थित हुने गरी परिवारका सदस्यको जिम्मामा छाडिएको छ ।
सन्तोष शाह नेपाली खानालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने चर्चित सेफ हुन् । उनी सन् २०२१ मा बीबीसी मास्टरसेफ कार्यक्रममा सहभागी भई चर्चामा आएका थिए ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया