Techie IT
KTM Post
बिहीबार, १८ असार, २०८३

राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई पक्राउ गरेको छ । पासपोर्ट खरिद तथा छपाइ प्रक्रियासम्बन्धी प्रकरणमा अनुसन्धान अघि बढाउँदै उनलाई नियन्त्रणमा लिइएको हो।

अर्याललाई सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, बालुवाटारमा भएको छलफलपछि अख्तियारले नियन्त्रणमा लिएको हो। उनलाई राहदानी छपाइमा देखिएको ढिलासुस्ती तथा प्रक्रियागत अनियमिततासम्बन्धी विषयमा छलफलका लागि बोलाइएको थियो।

त्यसै प्रकरणमा व्यवसायी सिद्धार्थ थापा पनि सादा पोशाकका सुरक्षाकर्मीको नियन्त्रणमा रहेको बताइएको छ। उनी राष्ट्रिय सभा सदस्य सुनिल थापाका छोरा हुन्।

राहदानी छपाइसम्बन्धी टेन्डर प्रक्रिया र पुरानो कम्पनीसँगको सम्झौता सकिएपछि नयाँ कम्पनी छनोट प्रक्रियामा देखिएको अनियमितता र ढिलाइबारे अनुसन्धान केन्द्रित रहेको छ।

हाल राहदानी छपाइका लागि जर्मनीका दुई कम्पनी मुलबाउर र भेरिडोसले टेन्डर पाएको बताइएको छ। तर, छपाइ प्रक्रिया र कार्यान्वयनमा देखिएको ढिलाइका कारण सेवा प्रवाह प्रभावित हुँदै आएको थियो।

अख्तियारले घटनासम्बन्धी थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट