Techie IT
KTM Post
बिहीबार, १८ असार, २०८३

पाँच हजार तीन सय औषधि पसल र फार्मेसीको प्रमाणपत्र स्वतः खारेज


काठमाडौं । औषधि व्यवस्था विभागले देशभरका ५ हजार ३ सय २ औषधि पसल तथा फार्मेसीहरूको दर्ता प्रमाणपत्र स्वतः खारेज भएको जनाएको छ।

विभागले मंगलबार जारी गरेको सूचनाअनुसार तोकिएको समयसीमाभित्र नवीकरण प्रक्रिया पूरा नगरेका तथा नवीकरण म्याद समाप्त भएका औषधि पसलहरूको दर्ता प्रमाणपत्र स्वतः रद्द भएको हो। कानुनी व्यवस्था अनुसार नवीकरण नगरेका संस्थाहरूलाई स्वतः खारेज हुने प्रावधान लागू भएपछि ठूलो संख्यामा फार्मेसीहरू प्रभावित भएका छन्।

औषधि ऐन, २०३५ को दफा ११ (संशोधित व्यवस्था) तथा सोही ऐनको उपदफा (५) बमोजिम औषधि उत्पादन अनुज्ञापत्र, सिफारिस पत्र तथा प्रमाणपत्रको अवधि र नवीकरण सम्बन्धी व्यवस्था लागू गरिएको विभागले जनाएको छ।

विभागका अनुसार जेठ २८ गतेसम्म नवीकरण म्याद समाप्त भएका औषधि पसलहरूको सूचीसमेत सार्वजनिक गरिएको छ। अब म्याद समाप्त भइसकेका पसलहरूले कानुनी रूपमा औषधि बिक्री–वितरण गर्न पाउने छैनन्।

विभागले सबै औषधि पसल सञ्चालकहरूलाई आफ्नो प्रमाणपत्रको अवस्था तत्काल यकिन गरी आवश्यक कानुनी प्रक्रिया पूरा गर्न आग्रह गरेको छ। साथै, प्रचलित कानुन र विभागीय निर्देशनको पूर्ण पालना गर्न निर्देशन दिँदै बिना मापदण्ड औषधि व्यवसाय सञ्चालन नगर्न र जनस्वास्थ्यमा खेलबाड नगर्न चेतावनी दिएको छ।

598259171_1494743641723700_5809892660018776463_n


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट