तलब नपाएपछि मधेशका १३६ स्थानीय तहका प्रयोगशालाकर्मी आन्दोलनमा
काठमाडौं । मधेश प्रदेशका १३६ स्थानीय तहमा प्रदेश सरकार र स्थानीय तहको साझेदारीमा सञ्चालनमा रहेका जनस्वास्थ्य प्रयोगशालामा कार्यरत प्रयोगशालाकर्मीहरू तलब तथा सेवा–सुविधा नपाएको भन्दै आन्दोलनमा उत्रिएका छन्।
लामो समयदेखि पारिश्रमिक नपाएको गुनासो गर्दै उनीहरूले संयुक्त संघर्ष समिति गठन गरी जनकपुरधामस्थित जनस्वास्थ्य प्रयोगशालामा धर्ना सुरु गरेका हुन्।
कर्मचारीहरूका अनुसार आर्थिक वर्ष २०८२/८३ को कात्तिक महिनादेखि हालसम्म तलब प्राप्त भएको छैन। साथै चाडपर्व भत्ता, जोखिम भत्ता, महँगी भत्ता लगायत कानुनअनुसार पाउनुपर्ने सेवा–सुविधा पनि रोकिएको उनीहरूको आरोप छ।
चालु आर्थिक वर्ष समाप्त हुन लाग्दासमेत सेवा सम्झौता तथा म्याद नवीकरण प्रक्रिया अघि नबढेकोप्रति उनीहरूले असन्तुष्टि जनाएका छन्। समस्या समाधानका लागि पटक–पटक मौखिक तथा लिखित रूपमा जानकारी गराउँदा पनि कुनै ठोस पहल नभएको भन्दै उनीहरू आन्दोलनमा उत्रन बाध्य भएको बताउँछन्।
आन्दोलनरत प्रयोगशालाकर्मीहरूले कात्तिक महिनादेखिको सम्पूर्ण बाँकी तलब तत्काल भुक्तानी गर्न, सेवा सम्झौता अविलम्ब नवीकरण गर्न तथा सबै कानुनी भत्ता उपलब्ध गराउन माग गरेका छन्।
माग पूरा नभए जनस्वास्थ्य सेवा प्रभावित हुने र त्यसको सम्पूर्ण जिम्मेवारी सम्बन्धित निकायले लिनुपर्ने चेतावनी पनि उनीहरूले दिएका छन्।
क्याटेगोरी : समाचार













प्रतिक्रिया