शरद भेषावकर काठमाडौं गोर्खाजको क्रिकेट डाइरेक्टर नियुक्त
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज टोली काठमाडौं गोर्खाजले पूर्व राष्ट्रिय क्रिकेटर शरद भेषावकरलाई क्रिकेट डाइरेक्टरको जिम्मेवारी दिएको छ। क्लबले आगामी एनपीएल सिजनलाई थप प्रतिस्पर्धी बनाउने योजनाअन्तर्गत भेषावकरलाई आफ्नो व्यवस्थापन टोलीमा भित्र्याएको हो।
नयाँ भूमिकामा भेषावकरले टोलीको क्रिकेट रणनीति, प्राविधिक पक्ष, खेलाडी व्यवस्थापन तथा समग्र क्रिकेट सञ्चालनको नेतृत्व गर्नेछन्। क्लबले उनको अनुभव र नेतृत्वले टोलीलाई मैदानभित्र र बाहिर दुवै क्षेत्रमा थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ।
क्लबद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “हामी प्रत्येक सिजन आफ्नो क्रिकेट संरचनालाई अझ व्यवस्थित बनाउँदै आएका छौं। शरदजस्तो अनुभवी व्यक्तिको साथले टोलीलाई नयाँ उचाइमा पुर्याउने विश्वास गरेका छौं।”
भेषावकर एनपीएलको पहिलो संस्करणमा चितवन राइनोजबाट खेलाडीका रूपमा आबद्ध थिए। यसपटक भने उनी व्यवस्थापकीय भूमिकामा काठमाडौं गोर्खाजसँग जोडिएका हुन्।
सन् २००२ मा एसीसी यू–१५ एसिया कपबाट अन्तर्राष्ट्रिय क्रिकेट यात्रा सुरु गरेका भेषावकरले २००४ मा नेपाली राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए। उनले २०१४ मा नेपाललाई पहिलो पटक टी–२० विश्वकपमा पुर्याउने अभियानमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। २०१८ मा नेपालले पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेल खेल्दा पनि उनी टोलीका सदस्य थिए।
घरेलु क्रिकेटमा सफल कप्तानका रूपमा परिचित भेषावकरको नेतृत्वमा विभिन्न फ्रेन्चाइज टोलीले तीन उपाधि जितेका छन् भने तीनपटक उपविजेतामा सीमित भएका छन्। उनले नेपाल एपीएफ क्लबलाई पनि टी–२० र ५० ओभरका दुई घरेलु प्रतियोगिताको उपाधि दिलाएका थिए।
गत वर्ष हङकङ सुपर सिक्स प्रतियोगितापछि अन्तर्राष्ट्रिय क्रिकेटबाट विश्राम लिएका भेषावकरले काठमाडौं आफ्नो जन्मथलो र क्रिकेट यात्रासँग जोडिएको सहर भएकाले यस टोलीसँग आबद्ध हुन पाउँदा विशेष खुसी लागेको बताएका छन्। उनले आफ्नो अनुभवको पूर्ण उपयोग गर्दै टोलीलाई उत्कृष्ट नतिजा दिलाउन प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।
क्याटेगोरी : खेलकुद













प्रतिक्रिया