Techie IT
KTM Post
मंगलबार, १९ जेठ, २०८३

फिफा विश्वकप २०२६ : नेपालमा टिभी र ओटीटी सब्स्क्रिप्सन सुरु, यस्तो छ ग्राहक बन्ने प्रक्रिया


काठमाडौं । फिफा विश्वकप २०२६ का लागि नेपालमा आधिकारिक टेलिभिजन तथा डिजिटल प्रसारण अधिकारसम्बन्धी सब्स्क्रिप्सन अभियान सुरु गरिएको छ।

नेपालका लागि प्रसारण अधिकार प्राप्त एसप्रो मिडियाले मंगलबार आयोजना गरेको कार्यक्रममा विश्वकप प्रसारण योजना सार्वजनिक गरेको हो।

सम्झौताअनुसार प्रतियोगिताका सम्पूर्ण १०४ खेलहरू नेपालमा हिमालय स्पोर्ट्स एचडीमार्फत टेलिभिजनमा तथा डीगो एपमार्फत ओटीटी (डिजिटल) प्लेटफर्ममा प्रत्यक्ष प्रसारण गरिनेछ।

एसप्रो मिडियाका अनुसार फिफाले नेपालका लागि विशेष (एक्सक्लुसिभ) प्रसारण अधिकार प्रदान गरेकाले विदेशी टेलिभिजन च्यानल वा स्ट्रिमिङ प्लेटफर्महरूले नेपालभित्र विश्वकप प्रसारण गर्न पाउने छैनन्।

आधिकारिक प्याकेज खरिद गरेका नेपाली दर्शकले मात्र तोकिएको शुल्कमा उच्च गुणस्तरमा विश्वकपका सबै खेलहरू हेर्न सक्ने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ।

प्याकेज शुल्क

विश्वकप हेर्नका लागि तीन प्रकारका प्याकेज उपलब्ध गराइएको छ ।

टिभी प्याकेजका लागि करसहित ९९९ रूपैयाँ शुल्क तोकिएको छ भने मोबाइल प्याकेजका लागि करसहित ५४९ तोकिएको छ ।

मोबाइल र ल्यापटप दुवैमा हेर्नका लागि पनि ९९९ रूपैयाँ शुल्क तिरे पुग्नेछ ।

कसरी बन्ने ग्राहक ?

विश्वकपको रोमाञ्चक अनुभव लिन चाहनुहुन्छ भने ग्राहक बन्ने विस्तृत प्रक्रिया यस्तो छ ।

टेलिभिजनमा हेर्नका लागि प्रक्रिया

यदि तपाईं डिजिटल टिभी (केबल, डीटीएच वा आईपीटीभी) प्रयोग गर्नुहुन्छ भने प्याकेज खरिदका लागि दुईवटा सजिला तरिकाहरू उपलब्ध छन् ।

पहिलो तरिका- (टिभी स्क्रिनको क्यूआर कोड मार्फत):
१. आफ्नो टेलिभिजन खोल्नुहोस्
२. च्यानल लिस्टमा गएर स्पोर्ट्स क्याटेगोरी भित्र रहेको हिमालय स्पोर्ट्स एचडी च्यानल खोल्नुहोस्
३. च्यानल खोल्नेबित्तिकै तपाईंको टेलिभिजन स्क्रिनमा एउटा क्यूआर कोड देखिनेछ
४. उक्त क्यूआर कोडलाई आफ्नो मोबाइल वालेटमार्फत स्क्यान गरी तुरुन्तै रकम भुक्तानी गर्न सक्नुहुन्छ ।

दोस्रो तरिका (डिजिटल वालेट एपमार्फत):
१. सीधै आफ्नो मोबाइलमा रहेको इसेवा वा खल्ती एप खोल्नुहोस्
२. जसरी तपाईं इन्टरनेट वा टेलिभिजनको नियमित बिल तिर्नुहुन्छ, त्यसैगरी TV Service provider छनोट गर्नुहोस्
३. आफ्नो User ID / Subscriber ID हाल्नुहोस् ।
४. FIFA World Cup TV Package चयन गरी करसहित रु. ९९९ भुक्तानी गर्नुहोस् । भुक्तानी सफल भएपछि विश्वकपका खेलहरू सुचारु हुनेछन् ।

फिफा विश्वकप टिभी प्याकेज प्रयोग गर्नका लागि तपाईंको डिजिटल टिभीको नियमित सब्स्क्रिप्सन सक्रिय हुन आवश्यक छ । टिभीको नियमित म्याद सकिएको वा निष्क्रिय भएको अवस्थामा विश्वकप प्याकेज मात्र खरिद गरेर सेवा सञ्चालन हुने छैन।

मोबाइल वा ल्यापटपमा हेर्नका लागि प्रक्रिया

डिजिटल माध्यमबाट विश्वकप हेर्न चाहने दर्शकले निम्न प्रक्रिया अपनाउन सक्नुहुनेछः

१. आफ्नो डिभाइसमा डीगो (DGO) एप डाउनलोड गरी रजिस्टर वा लगइन (Register/Login) गर्नुहोस्, अथवा सीधै इसेवा वा खल्ती एपमा जानुहोस्
२. एपको होमपेजमा देखिने फिफा वर्ल्ड कप आइकन चयन गर्नुहोस्
३. आफ्नो आवश्यकता अनुसार निम्न प्याकेज छान्नुहोस्

मोबाइल अन्ली प्याकेज : केवल रु. ५४९ (करसहित) मा मोबाइलमा मात्र सम्पूर्ण १०४ खेलहरूको मजा लिन सकिनेछ ।

मोबाइल र ल्यापटप प्याकेजः मोबाइल र ल्यापटप दुवै डिभाइसमा हेर्नका लागि रु. ९९९ (करसहित) को बेग्लै प्याकेज खरिद गर्न सकिन्छ ।

तपाईंको सब्स्क्रिप्सन तपाईंले पहिलो पटक लगइन तथा अथेन्टिकेट (Authenticate) गर्नुभएको मोबाइल नम्बर र डिभाइससँग स्थायी रूपमा जोडिनेछ । त्यसैले आफूले हेर्न चाहेको मुख्य मोबाइल डिभाइसबाटै प्याकेज खरिद गर्नुहोस् ।

सब्स्क्रिप्सन सक्रिय भइसकेपछि अर्को मोबाइलमा सार्न वा डिभाइस परिवर्तन गर्न मिल्ने छैन । खरिद गर्नु अघि सही र आफूले प्रयोग गरिरहेको मोबाइल नम्बर प्रयोग भएको सुनिश्चित गर्नुहोस् ।

टिभी र मोबाइलका लागि तोकिएका माथिका दुवै मूल्यहरूमा सबै कर समावेश गरिएको छ । विश्वकप प्याकेज खरिद गर्दा वा च्यानल सुचारु गर्दा कुनै पनि प्राविधिक समस्या आएमा ग्राहकहरूले आ-आफ्नो टिभी सेवा प्रदायकसँग सम्पर्क गर्न सकनिछ ।

त्यस्तै, मोबाइलमा डीगो एप प्रयोग गर्दा समस्या देखिएमा डीगो एपको आधिकारिक ग्राहक सेवा नम्बरमा सम्पर्क राख्न सकिनेछ ।

 


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


ताजा अपडेट