प्रधानमन्त्रीको सदन अभिव्यक्तिमा आएको विवादबारे सरकारको स्पष्टीकरण
काठमाडौं । सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सीमा विवादसम्बन्धी विषयमा प्रधानमन्त्रीले सदनमा दिएको अभिव्यक्तिलाई लिएर आएको विवादबारे स्पष्टीकरण दिएका छन्।
मन्त्रिपरिषद् बैठकपछि बोल्दै उनले प्रधानमन्त्रीले नेपालले भारतको सीमा मिचेको भनेको नभई यस्तो प्रसंग आउँदा आफू अचम्मित भएको मात्र अभिव्यक्ति दिएको स्पष्ट पारेका हुन् ।
उनका अनुसार सदनमा प्रधानमन्त्रीको भनाइलाई विपक्षीले गलत ढंगले व्याख्या गरेको हो। “प्रधानमन्त्रीले नेपालले भारतको सीमा मिच्यो भन्नुभएको होइन, यस्तो कुरा आउँदा अचम्मित भएको मात्र बताउनुभएको हो,” उनले भने।
प्रवक्ता पोखरेलले सीमा विवाद कूटनीतिक माध्यम र पुरानै संयन्त्रमार्फत समाधान हुने सरकारको अडान रहेको दोहोर्याए। उनका अनुसार नेपाल–भारतबीचका सीमा समस्या समाधानका लागि पहिलेदेखि नै विभिन्न संयन्त्रहरू सक्रिय छन्।
कतिपय स्थानमा एकअर्काको उपभोगमा रहेको भूमि सम्बन्धी प्राविधिक विषय ती संयन्त्रमार्फत नै छलफल हुँदै आएको उनले बताए।
उनले सीमा विवाद समाधानका लागि दुवै देशबीच कूटनीतिक नोट आदान–प्रदान भइसकेको उल्लेख गर्दै अब समस्या वार्ता र टेबल टकमार्फत समाधान गरिने जानकारी दिए।
प्रधानमन्त्री सदनप्रति पूर्ण रूपमा उत्तरदायी रहेको उल्लेख गर्दै उनले आवश्यक परे फेरि पनि सदनमा उपस्थित भएर स्पष्ट पार्ने बताए।
यसैबीच मानव अधिकार आयोगको प्रतिवेदनबारे प्रश्नमा उनले उक्त प्रतिवेदन सरकारलाई औपचारिक रूपमा प्राप्त भएपछि आवश्यक प्रक्रिया अघि बढाइने जानकारी दिए।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया