Techie IT
KTM Post
बिहीबार, १८ असार, २०८३

रास्वपा छाडेको घोषणा गरेकी गोमा तामाङलाई महाधिवेशन व्यवस्थापनको जिम्मेवारी


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेको घोषणा गरेकी गोमा तामाङ (सरिन) लाई पार्टीले महाधिवेशन व्यवस्थापनको जिम्मेवारी दिएको पाइएको छ।

रास्वपाले आगामी महाधिवेशन सम्पन्न गर्न गठन गरेका १८ वटा उपसमितिमध्ये ‘महाधिवेशन प्रतिनिधि व्यवस्थापन उपसमिति’मा तामाङलाई सदस्यको रूपमा समेटेको हो।

उक्त उपसमितिको संयोजक पार्टीकी कोषाध्यक्ष लिमा अधिकारी रहेकी छन्।

गोमा तामाङले केही समयअघि कोशी प्रदेश सभापति पदको निर्वाचनमा पराजित भएपछि सामाजिक सञ्जालमार्फत आफूले रास्वपा परित्याग गरेको घोषणा गरेकी थिइन्।

कोशी प्रदेश सभापति पदमा चन्द्र राई निर्वाचित भएपछि उनले ‘आजबाट राजनीतिक बिट मारें’ भन्दै सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गरेकी थिइन्।

तामाङले निर्वाचनमा आफूलाई हराउन पार्टीभित्रकै केही सांसद र केन्द्रीय सदस्य सक्रिय भएको आरोपसमेत लगाएकी थिइन्।

सामाजिक सञ्जालमा उनले पार्टीभित्र गुटबन्दी र ‘सेटिङ’ को राजनीति हाबी भएको संकेत गर्दै आक्रोश पोखेकी थिइन्।

सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारसमेत रहेकी तामाङ निर्वाचनमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङसँग पराजित भएकी थिइन्।

उनी रास्वपाको पूर्व कार्यवाहक सभापति समेत रहिसकेकी नेतृ हुन्।पार्टी छाडेको घोषणा गरेकी नेतृलाई नै महाधिवेशन व्यवस्थापन उपसमितिमा राखिएको विषय अहिले रास्वपाभित्र र बाहिर दुवैतर्फ चर्चा बनेको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट