१२ कक्षा नतिजा : ४० जनाको परीक्षा रद्द, २ विद्यार्थी एक वर्ष प्रतिबन्धित
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (१२ कक्षा) को नतिजा सार्वजनिक गर्दै ४० जना विद्यार्थीको परीक्षा रद्द गरेको छ भने दुई जनालाई एक वर्षसम्म बोर्डका कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी कारबाही गरेको छ ।
बोर्डका अनुसार नियमिततर्फ ३० जना र आंशिकतर्फ १० जना गरी कुल ४० जनाको नतिजा रद्द गरिएको हो । तीमध्ये दुई विद्यार्थीको सम्पूर्ण विषयको परीक्षा रद्द गर्दै उनीहरूलाई आगामी एक वर्षसम्म कुनै पनि बोर्ड परीक्षा दिन नपाउने निर्णय गरिएको छ ।
यस वर्ष नियमिततर्फ ३ लाख ३२ हजार २४१ विद्यार्थी परीक्षामा सहभागी भएका थिए । तीमध्ये २ लाख ३१ हजार ७७० जना ग्रेडेड भएका छन् भने १ लाख ७०१ जना नन-ग्रेडेड भएका छन् । नियमिततर्फ ग्रेडेड प्रतिशत ६९.७५ रहेको बोर्डले जनाएको छ ।
त्यस्तै, आंशिकतर्फ ८५ हजार ९२९ जना परीक्षार्थी सहभागी भएका थिए, जसमध्ये ३६ हजार ४२० जना ग्रेडेड भएका छन् । आंशिकतर्फ ग्रेडेड प्रतिशत ४२.३८ रहेको छ ।
समग्रमा नियमित र आंशिक गरी ४ लाख १८ हजार १७० विद्यार्थी परीक्षामा सहभागी भएका थिए । कुल ग्रेडेड प्रतिशत ६४.१३ रहेको बोर्डको तथ्यांकमा उल्लेख छ ।
बोर्डका अनुसार परीक्षा २०८३ वैशाख १४ देखि २७ गतेसम्म सञ्चालन गरिएको थियो ।
क्याटेगोरी : समाचार












प्रतिक्रिया