नेपाली चलचित्र उद्योगले अर्थतन्त्र र राष्ट्रिय पहिचानमा अझ ठूलो योगदान दिन सक्छ : राष्ट्रपति पौडेल
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली चलचित्र उद्योगले देशको आर्थिक विकास, सांस्कृतिक पहिचान र सामाजिक रूपान्तरणमा अझ प्रभावकारी योगदान दिन सक्ने बताएका छन्।
चलचित्र विकास बोर्डद्वारा आयोजित राष्ट्रिय तथा विशेष चलचित्र पुरस्कार एवं दीर्घ साधना सम्मान कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले चलचित्र क्षेत्रलाई केवल मनोरञ्जनको माध्यमका रूपमा मात्र सीमित नगरी आर्थिक समृद्धिसँग जोडेर हेर्नुपर्नेमा जोड दिए। उनले यसतर्फ सबै सरोकारवालाको ध्यान जान आवश्यक रहेको बताए।
उनले नेपाली गाउँ–ठाउँ, पाखापखेरा र कुनाकन्दराका जीवन, कथा र अनुभवलाई सूक्ष्म ढङ्गले पर्दामा उतार्न सके अन्तर्राष्ट्रिय चलचित्र महोत्सव तथा विश्व बजारमा नेपालको विशिष्ट पहिचान स्थापित गर्न सकिने उल्लेख गरे। त्यसका लागि प्रविधिसँग अद्यावधिक रहँदै अध्ययन, अनुसन्धान र सृजनात्मक पक्षलाई निरन्तर अघि बढाउन चलचित्रकर्मीलाई सुझाव दिए।
राष्ट्रपति पौडेलले चलचित्रले नागरिकमा चेतना, जागरण, रूपान्तरण र राष्ट्रप्रेमको भावना विकास गर्ने माध्यमका रूपमा काम गर्ने बताए। साथै, यसले नेपाली भाषा, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा पनि महत्वपूर्ण भूमिका खेल्ने उनले स्पष्ट पारे।
उनका अनुसार हिमाल, पहाड र तराईका प्राकृतिक सौन्दर्य तथा सामाजिक जीवनलाई चलचित्रमार्फत देशभित्र मात्र होइन, विश्व मञ्चमा पनि चिनाउन सकिन्छ, जसले साझा राष्ट्रिय पहिचान निर्माणमा सहयोग पुर्याउँछ।
उनले बदलिँदो समयअनुसार नीति, कानुन, सुविधा र सहुलियतसहित संस्थागत सुधार गरी चलचित्र उद्योगलाई नयाँ उचाइमा पुर्याउनुपर्ने आवश्यकता औँल्याए। साथै, चलचित्र क्षेत्रसँग सम्बन्धित सबैको योगदानको उचित मूल्यांकन गर्दै कलाकार तथा प्राविधिकले आत्मसम्मानसहित भविष्य सुरक्षित महसुस गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए।
डिजिटल प्रविधिको विकासले चलचित्र निर्माणदेखि वितरणसम्म सहज भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले यसको प्रयोगका क्रममा मौलिक कथा, मानवीय सृजनशीलता, सांस्कृतिक पहिचान र सर्जकको बौद्धिक अधिकारको संरक्षणमा विशेष ध्यान दिन आग्रह गरे।
उनले चलचित्रमा महिला, बालबालिका, दलित, आदिवासी जनजाति, मधेसी, अपाङ्गता भएका व्यक्ति तथा विभिन्न समुदायका कथाहरू सम्मानजनक, संवेदनशील र यथार्थपरक रूपमा प्रस्तुत हुनुपर्ने अपेक्षा व्यक्त गरे। “जब हरेक नेपालीले आफ्नो कथा पर्दामा देख्छ, तब चलचित्र साँच्चिकै राष्ट्रिय बन्छ,” उनले भने।
सोही अवसरमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई दीर्घ साधना सम्मान प्रदान गरिएको थियो।
क्याटेगोरी : समाचार












प्रतिक्रिया