Techie IT
KTM Post
बिहीबार, १८ असार, २०८३

रास्वपा महाधिवेशनमा डीडीसीको बिक्री केन्द्र, केही दुग्धजन्य वस्तुमा विशेष छुट


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनस्थलमा दुग्ध विकास संस्थान (डीडीसी) ले आफ्ना उत्पादनहरूको बिक्री केन्द्र सञ्चालन गरेको छ। महाधिवेशनमा सहभागी प्रतिनिधि, आगन्तुक तथा सर्वसाधारणलाई लक्षित गर्दै उक्त बिक्री कक्ष स्थापना गरिएको हो।

डीडीसीका अनुसार बिक्री केन्द्रमा करिब २० प्रकारका दुग्धजन्य उत्पादन उपलब्ध छन्। तीमध्ये केही वस्तुमा ५ देखि १० प्रतिशतसम्म विशेष छुटको व्यवस्था गरिएको छ।

हालै डीडीसीका उत्पादनहरू सामाजिक सञ्जालमा चर्चामा आएका थिए। रास्वपाका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन शाह ले डीडीसीको चिजसहितको तस्बिर फेसबुकमा सार्वजनिक गरेपछि ती उत्पादनप्रति चासो बढेको थियो। त्यसलगत्तै मन्त्रिपरिषद् बैठकमा समेत डीडीसीका उत्पादनका प्याकेट राखिएको तस्बिर सार्वजनिक भएको थियो।

वि.सं. २०२१ मा कम्पनी ऐनअन्तर्गत स्थापना भएको दुग्ध विकास संस्थान (डीडीसी) नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको संस्था हो। संस्थानले किसानबाट दूध खरिद गरी दूध, दही, घ्यु, मही, पनिर, चिज, आइसक्रिम, दूध पाउडर, खुवा लगायतका दुग्धजन्य सामग्री उत्पादन तथा बिक्री-वितरण गर्दै आएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट