सुनिता डङ्गोल इजरायल प्रस्थान
काठमाडौँ । इजरायलको तेल अभिभमा आयोजना हुने म्युनिसिपल कन्फरेन्सको दशौँ संस्करणमा सहभागी हुन काठमाडौँ महानगरपालिकाको प्रतिनिधिमण्डल इजरायल प्रस्थान गरेको छ।
काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल, प्रवक्ता नवीन मानन्धर र विपद् व्यवस्थापन समितिका संयोजक प्रेम थापा शनिबार रातिको उडानमार्फत इजरायल प्रस्थान गरेका हुन्।
इजरायल सरकारको विदेश मन्त्रालयको निमन्त्रणामा उनीहरू ‘सफल साझेदारी (विनिङ पार्टनरशिप)’ शीर्षकमा हुने सम्मेलनमा सहभागी हुन गएका हुन्। कार्यक्रममा विश्वका १५० भन्दा बढी सहरका प्रमुख, नगर नेताहरू, सरकारी अधिकारी, सहरी योजनाकार तथा विज्ञहरूको सहभागिता रहनेछ।
असार ९, १० र ११ गते (जुन २३–२५) सम्म चल्ने उक्त सम्मेलनमा नेपालबाट काठमाडौँसँगै पोखरा महानगरपालिका र जनकपुर नगरपालिकाका प्रमुख तथा प्रतिनिधिहरूको पनि सहभागिता रहेको छ। सहभागीहरूले सम्मेलनसँगै आयोजना हुने प्रदर्शनी (एक्सपो) तथा विभिन्न व्यावसायिक भ्रमण कार्यक्रममा समेत भाग लिनेछन्।
कार्यक्रममा सहरी व्यवस्थापन, स्मार्ट सिटी अवधारणा, नवीन प्रविधि प्रयोग तथा स्थानीय शासनका सफल अभ्यासबारे अनुभव आदान–प्रदान गरिनेछ। आयोजकका अनुसार सम्मेलनको मुख्य उद्देश्य विभिन्न शहरबीच ज्ञान, सीप र सहकार्यलाई विस्तार गर्नु हो।
यो सम्मेलन इजरायलको स्थानीय सरकार महासङ्घको प्रमुख वार्षिक कार्यक्रम मानिन्छ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया