सरकारविरुद्ध आक्रामक देखिएका अमरेश सिंह अनुसन्धानको रडारमा
काठमाडौं । सांसद डा. अमरेश कुमार सिंहमाथि ‘बिचौलिया’ भनिएका दीपक भट्टसँगको सम्बन्ध तथा अन्य व्यक्तिको नाममा सम्पत्ति राखिएको आशंकासम्बन्धी विषयमा अनुसन्धान तीव्र बनाइएको दाबी गरिएको छ।
उच्च स्रोतका अनुसार अनुसन्धानका क्रममा सिंह र भट्टबीच लामो समयदेखिको सम्बन्धबारे विभिन्न तथ्यहरू संकलन भइरहेको छ। स्रोतले भट्ट पक्राउ परेपछि सिंहमाथिको अनुसन्धान पनि थप सक्रिय बनाइएको जनाएको छ।
स्रोतका अनुसार पछिल्लो समय सिंहले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गर्दै आएका छन्। संसददेखि सार्वजनिक मञ्चसम्म उनले सरकार र रास्वपा नेतृत्वको आलोचना गर्दै आएका छन्। उनले हालै चितवनमा सम्पन्न रास्वपाको पहिलो महाधिवेशनमा समेत सहभागिता जनाएका थिएनन्।
यद्यपि, सिंहको राजनीतिक गतिविधि र उनीमाथि भइरहेको भनिएको अनुसन्धानबीच प्रत्यक्ष सम्बन्ध रहेको विषयमा कुनै आधिकारिक पुष्टि भएको छैन।
अनुसन्धानमा संलग्न स्रोतहरूले आवश्यक प्रमाण संकलनको कार्य जारी रहेको र प्राप्त तथ्यका आधारमा थप कानुनी प्रक्रिया अघि बढ्न सक्ने बताएका छन्। स्रोतका अनुसार उनीमाथि पक्राउको सम्भावनाबारे समेत छलफल भइरहेको दाबी गरिएको छ।
यस विषयमा सम्बन्धित सरकारी निकाय तथा सांसद डा. अमरेश कुमार सिंहको आधिकारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन। आरोपहरू अनुसन्धानकै चरणमा रहेकाले अन्तिम निष्कर्ष आउन बाँकी रहेको बताइएको छ।
क्याटेगोरी : राजनीति












प्रतिक्रिया