Techie IT
KTM Post
शुक्रबार, १२ असार, २०८३

रास्वपाद्वारा महाधिवेशन निर्वाचनका लागि प्रस्तावक र समर्थक सम्बन्धी मापदण्ड घोषणा


चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत हुने नेतृत्व चयन प्रक्रियालाई थप व्यवस्थित, पारदर्शी र निष्पक्ष बनाउन उम्मेदवारका प्रस्तावक तथा समर्थक सम्बन्धी नयाँ मापदण्ड सार्वजनिक गरेको छ।पार्टीको केन्द्रीय निर्वाचन आयोगले मंगलबार जारी गरेको विज्ञप्तिमा विभिन्न पदका उम्मेदवारहरूका लागि प्रस्तावक र समर्थकको न्यूनतम संख्या तथा योग्यतासम्बन्धी व्यवस्था स्पष्ट गरिएको छ।

नयाँ व्यवस्था अनुसार सभापति पदमा उम्मेदवारी दिने इच्छुक व्यक्तिले मनोनयन दर्ता गर्दा एक जना प्रस्तावकसहित कम्तीमा ५१ जना समर्थकको नाम, सम्पर्क नम्बर र हस्ताक्षर पेश गर्नुपर्नेछ।त्यसैगरी, अन्य पदाधिकारी तथा केन्द्रीय सदस्य पदका उम्मेदवारहरूले एक जना प्रस्तावक र कम्तीमा २१ जना समर्थकको विवरण तथा हस्ताक्षरसहित उम्मेदवारी दर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ।

निर्वाचन आयोगले प्रस्तावक र समर्थकको भूमिकालाई समेत स्पष्ट पारेको छ। आयोगका अनुसार एक व्यक्तिले एकभन्दा बढी उम्मेदवारको प्रस्तावक बन्न पाउने छैनन्। तर समर्थकका रूपमा भने एउटै व्यक्तिले एकभन्दा बढी उम्मेदवारलाई समर्थन गर्न सक्नेछ।

निर्धारित मापदण्डअनुसार प्रस्तावक वा समर्थक बन्ने व्यक्ति महाधिवेशन प्रतिनिधिको आधिकारिक सूचीमा समावेश भएको पार्टी सदस्य हुनुपर्नेछ।यस्तै, निर्वाचन प्रक्रियाको निष्पक्षता सुनिश्चित गर्न उम्मेदवारको प्रस्तावक वा समर्थक बनेका व्यक्तिहरू स्वयं भने कुनै पनि पदमा उम्मेदवार बन्न नपाउने व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ।

रास्वपाले आगामी नेतृत्व चयन प्रक्रियालाई व्यवस्थित र विवादरहित बनाउन यस्तो व्यवस्था लागू गरिएको जनाएको छ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट