समाचारको विषयमा हेलमेट प्रहार हुँदा पत्रकार घाइते
काठमाडौं । पत्रकार देवराम यादवमाथि भएको कुटपिट घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघले घटनाको निन्दा गर्दै दोषीमाथि कानुनी कारबाही गर्न र पत्रकारलाई सुरक्षित वातावरणमा काम गर्ने अवस्था सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरेको छ।
महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा सप्तरीस्थित महादेवा गाउँपालिकाका सुरेन्द्र यादवसहितका व्यक्तिले गोरखापत्र दैनिकमा कार्यरत पत्रकार देवराम यादवमाथि आक्रमण गरेको उल्लेख गरिएको छ।महासंघले सप्तरी शाखालाई उद्धृत गर्दै समाचारको विषयलाई लिएर असार ६ गते पत्रकार यादवमाथि एक्कासी हेलमेट प्रहार गरिएको र त्यसबाट उनी घाइते भएको जनाएको छ।
विज्ञप्तिमा समाचारप्रति असन्तुष्टि भए कानुनी तथा संस्थागत प्रक्रियामार्फत समाधान खोज्नुपर्नेमा पत्रकारमाथि भौतिक आक्रमण हुनु प्रेस स्वतन्त्रतामाथिको गम्भीर प्रहार भएको उल्लेख गरिएको छ।
“समाचारको विषय भए प्रचलित विधिअनुसार समाधान नखोजेर पत्रकारमाथि आक्रमणमा उत्रिनु अत्यन्तै निन्दनीय र प्रेस स्वतन्त्रताविरोधी कार्य हो,” विज्ञप्तिमा भनिएको छ।
महासंघले घटनाको निष्पक्ष छानबिन गरी संलग्न व्यक्तिहरूमाथि कानुनबमोजिम कारबाही गर्न तथा पत्रकारहरूलाई निर्भीक रूपमा पेशागत अभ्यास गर्न सक्ने वातावरण सुनिश्चित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।
क्याटेगोरी : समाचार












प्रतिक्रिया