Techie IT
KTM Post
शुक्रबार, १२ असार, २०८३

सहायक प्रमुख जिल्ला अधिकारीको खानामा शङ्खे किरा, होटललाई ५० हजार जरिवाना


काठमाडौं । पश्चिम नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारीको खानामा किरा भेटिएपछि एक होटललाई रु ५० हजार जरिवाना गरिएको छ।

बर्दघाटस्थित रोयल कटेज रेस्टुरेन्टमा खाना खानेक्रममा भण्डारीको खानामा रहेको सागमा शंखे किरा भेटिएको थियो। त्यसपछि होटललाई रु ५० हजार रुपैयाँ जरिवाना गरिएको हो।

बालमैत्री घोषणाका लागि बर्दघाट नगरपालिकाका विभिन्न वडामा भइरहेको अनुगमनकाक्रममा पुगेको भण्डारीसहितको टोलीले सोही होटलमा खाना खाएको थियो। अनुगमनकै गएको टोलीको खानामा किरा भेटिएपछि तत्कालै होटललाई कारबाही गरिएको थियो।

सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले शंखे किरा भेटिएपछि तत्काल अनुगमन टोली परिचालन गरिएको जानकारी दिए। अनुगमनका क्रममा होटलमा खाद्य स्वच्छतासम्बन्धी मापदण्ड पालना नगरेको र प्रयोग भएका सामग्रीसमेत अस्वस्थकर अवस्थामा रहेको पाइएको थियो।

त्यसपछि होटललाई जरिवाना गर्दै भविष्यमा यस्ता कमजोरी नदोहर्याउन कडा निर्देशन दिइएको छ।

पूर्व(पश्चिम राजमार्गमा अवस्थित उक्त होटल यात्रु तथा स्थानीयलाई सेवा दिने प्रमुख केन्द्रमध्ये एक हो। अनुगमनमा जिल्ला प्रशासन कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयसहितको संयुक्त टोली सहभागी थियो।

केही दिनअघि चितवनमा गृहमन्त्रीले अमलेट खाँदा माछाको काँडा भेटिएपछि तत्कालै दुई जना कुक पक्राउ परेका थिए भने तीन लाखरुपैया जरिवाना गरिएको थियो।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट