Techie IT
KTM Post
शनिबार, १३ असार, २०८३

वार्षिकोत्सवको तयारीमा चलचित्र विकास बोर्ड, मृगस्थलीमा २५० वटा बिरुवा रोपियो


काठमाडौं । चलचित्र विकास बोर्डले आफ्नो २६औँ वार्षिकोत्सव तथा रजत वर्षको अवसरमा पाशुपत क्षेत्रस्थित विश्वरूप मृगस्थलीमा वृक्षारोपण गरेको छ ।

शनिबार आयोजित कार्यक्रममा चलचित्रकर्मी, विभिन्न चलचित्रसम्बद्ध संघ–संस्थाका प्रतिनिधि, सामाजिक संस्थाका सदस्य तथा अन्य सरोकारवालाको सहभागितामा करिब २५० वटा बिरुवा रोपिएको बोर्डले जनाएको छ ।बोर्डका अध्यक्ष दिनेश डिसीले वार्षिकोत्सवलाई सामाजिक उत्तरदायित्वसँग जोड्ने उद्देश्यले वृक्षारोपण गरिएको बताए।

उनले भने, ‘चलचित्र विकास बोर्डको रजत वर्षको अन्तिम सन्ध्या र २६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा छौँ। त्यसको अवसरमा २५० वटा बिरुवा रोप्ने लक्ष्यसहित विभिन्न संघसंस्थाका अध्यक्षहरू, चलचित्र संस्थाका प्रतिनिधिहरू, कलाकार तथा लायन्स क्लबको सहभागितामा वृक्षारोपण कार्यक्रम गरिरहेका छौँ।’

सरकारले पनि यस अवधिमा ठूलो संख्यामा वृक्षारोपण अभियान सञ्चालन गर्ने लक्ष्य लिएको उल्लेख गर्दै उनले बोर्डले त्यसको सुरुआत गरेको महसुस भएको बताए।

‘पर्यावरण संरक्षण र विशेषगरी स्वस्थ जीवनका लागि वृक्षारोपण अत्यन्तै आवश्यक छ। हामीले रोपेका २५० वटा बिरुवामध्ये २५ वटा मात्रै हुर्किए पनि यस क्षेत्रका लागि त्यो ठूलो उपलब्धि हुनेछ,’ उनले भने।

अध्यक्ष डिसीले वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्वका अन्य कार्यक्रम पनि सञ्चालन गरिने बताए ।

‘भोलि रक्तदान कार्यक्रम पनि राखेका छौँ। १६ गते हुने वार्षिकोत्सवका कार्यक्रमका लागि पनि यसले सकारात्मक माहोल बनाउने विश्वास गरेका छौँ,’ उनले भने।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट