Techie IT
KTM Post
शनिबार, १३ असार, २०८३

शिक्षामन्त्रीको निर्णयपछि दर्ता नभई विद्यार्थी विदेश पठाउने १८ कन्सल्टेन्सी सञ्चालक पक्राउ


दर्ता प्रक्रिया पूरा नगरी शैक्षिक परामर्श सेवा सञ्चालन गर्दै विद्यार्थीलाई विदेश पठाउने कन्सल्टेन्सी सञ्चालक तथा व्यवस्थापकविरुद्ध सरकारले कानुनी कारबाही अघि बढाएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको निर्णयपछि प्रहरीले त्यस्ता कन्सल्टेन्सीमाथि अनुसन्धान तीव्र बनाएको हो।

उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार दर्ता प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेका १५ वटा कन्सल्टेन्सीका सञ्चालक र व्यवस्थापकसहित १८ जनालाई बुधबार पक्राउ गरिएको छ।

यसअघि जेठ १ गते विदेश अध्ययनका नाममा ठगी गरेको आरोपमा प्रहरीले काठमाडौं उपत्यकाका १९५ वटा शैक्षिक परामर्श केन्द्रमा छापा मारेको थियो। त्यसक्रममा ६८ जना सञ्चालक तथा व्यवस्थापक पक्राउ परेका थिए। तीमध्ये दर्ता प्रक्रियामा रहेका १५ वटा कन्सल्टेन्सीलाई हाजिर जमानीमा छाड्दै प्रहरीले आवश्यक निर्णयका लागि शिक्षा तथा खेलकुद मन्त्रालयलाई पत्राचार गरेको थियो।

शिक्षामन्त्रीस्तरीय निर्णयपछि दर्ता प्रक्रिया पूरा नगरी सेवा सञ्चालन गरेका ती कन्सल्टेन्सीमाथि कारबाही गर्ने निर्णय भएसँगै पुनः पक्राउ प्रक्रिया अघि बढाइएको हो।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार पक्राउ परेकाहरूलाई शिक्षा ऐन सम्बन्धी कसुरमा अनुसन्धान तथा मुद्दा प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।

प्रहरीले दर्ता प्रक्रियामा रहेका अन्य कन्सल्टेन्सीमाथि पनि अनुसन्धान जारी रहेको जनाएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट