Techie IT
KTM Post
बुधबार, १७ असार, २०८३

रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यको आज शपथ, नाम हेरफेर विवादले बढायो चुनौती


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम आज हुने भएको छ। पार्टी सचिवालयका अनुसार वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजे शपथ ग्रहण कार्यक्रम तय गरिएको छ।

चितवनमा असार ७ गतेदेखि सुरु भएको रास्वपाको पहिलो महाधिवेशन निर्धारित समयमै सम्पन्न हुन नसकेपछि सहमतिको प्रयासका बीच छ दिनसम्म लम्बिएको थियो। अन्ततः असार १२ गते महाधिवेशन सम्पन्न भएको थियो।

महाधिवेशनले सभापतिमा रवि लामिछानेलाई सर्वसम्मत रूपमा चयन गरेको थियो। यस्तै, उपसभापतिमा डा. स्वर्णिम वाग्ले र सोभिता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य तथा सहमहामन्त्रीमा हरि ढकाल, असिम शाह र निशा डाँगी निर्वाचित भएका थिए। उनीहरूसहित सात जना पदाधिकारी र ९९ जना केन्द्रीय सदस्य महाधिवेशनबाट चयन भएका छन्।

संशोधित विधानअनुसार पार्टीको केन्द्रीय कार्यसमिति १५० सदस्यीय हुनेछ। महाधिवेशनबाट निर्वाचित ९९ सदस्य रहने र बाँकी ५१ जना सदस्य भने केन्द्रीय समितिको सिफारिसका आधारमा सभापतिले मनोनयन गर्ने व्यवस्था रहेको छ। शपथ ग्रहण र पहिलो केन्द्रीय समिति बैठकपछि मात्र मनोनयन प्रक्रिया अघि बढ्ने जनाइएको छ।

यसबीच, निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम नतिजामा दुई जना केन्द्रीय सदस्यको नाम परिवर्तन गरिएको विषयले पार्टीभित्र विवाद सिर्जना गरेको छ। प्रारम्भिक सूचीमा समावेश भएका दुई उम्मेदवारको स्थानमा अन्य दुई जनालाई समावेश गरिएको भन्दै असन्तुष्ट पक्षले नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाएका छन्।

संस्थापन पक्षले भने क्लस्टर र मतगणनामा देखिएको प्राविधिक त्रुटि सच्याएर अन्तिम सूची सार्वजनिक गरिएको दाबी गरेको छ। यद्यपि, महाधिवेशन प्रतिनिधि र उम्मेदवारबीच यस विषयमा असन्तुष्टि कायम रहेको देखिएको छ।महाधिवेशनमा अपेक्षाभन्दा कम, करिब ३० प्रतिशत मात्रै मतदान भएको सन्दर्भमा उत्पन्न असन्तुष्टिलाई व्यवस्थापन गर्दै पार्टीभित्र एकता कायम गर्नु नवनिर्वाचित नेतृत्वका लागि प्रारम्भिक चुनौतीका रूपमा देखिएको छ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट