Techie IT
KTM Post
बुधबार, १७ असार, २०८३

रेलविहीन खाडी मुलुक अब एउटै ट्र्याकमा, २०३० सम्म ६ देश जोड्ने महत्वाकांक्षी परियोजना


काठमाडौं । आर्थिक समृद्धि, आधुनिक पूर्वाधार र अत्याधुनिक प्रविधिमा अग्रणी मानिने खाडी मुलुक कुवेत, कतार र बहराइनमा हालसम्म आन्तरिक लामो दूरीका राष्ट्रिय रेल सेवा सञ्चालनमा छैनन्। विश्वस्तरीय यातायात प्रणाली विकास गरिरहेका यी मुलुकमा फ्लाइङ ट्याक्सीजस्ता प्रविधि भित्रिने तयारी भइरहेका बेला परम्परागत रेल सञ्जालको अभाव भने उल्लेखनीय विषय बनेको छ।

विशेषज्ञहरूका अनुसार सानो भौगोलिक क्षेत्रफल, सीमित जनसङ्ख्या र पेट्रोलियम स्रोतमा आधारित अर्थतन्त्रका कारण यी देशहरूमा रेल सेवाको आवश्यकता कम महसुस गरिएको थियो। नागरिकहरूले छोटो दूरीका यात्राका लागि निजी सवारी साधन वा हवाई यातायातलाई प्राथमिकता दिँदै आएका छन्।

तर, अब खाडी क्षेत्रको यातायात संरचनामा ठूलो परिवर्तन आउने तयारी भइरहेको छ। खाडी सहयोग परिषद् (जीसीसी) का सदस्य राष्ट्रहरूलाई एउटै रेल सञ्जालमा जोड्ने लक्ष्यसहित २५० अर्ब डलरको ‘जीसीसी रेलवे परियोजना’ तीव्र गतिमा अघि बढिरहेको छ।

गल्फ रेलवे अथोरिटीको पछिल्लो प्रतिवेदनअनुसार २ हजार १७७ किलोमिटर लामो यस सीमापार रेल सञ्जालको ५० प्रतिशतभन्दा बढी निर्माण सम्पन्न भइसकेको छ। परियोजना सन् २०३० को अन्त्यसम्म पूर्ण रूपमा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।

सन् २००९ मा अवधारणा गरिएको यस परियोजनाले कुवेत, साउदी अरब, बहराइन, कतार, संयुक्त अरब इमिरेट्स (युएई) र ओमानलाई प्रत्यक्ष रेलमार्गमार्फत जोड्नेछ। परियोजना सम्पन्न भएपछि यात्रुहरूले कतारबाट सिधै बहराइन, कुवेत, साउदी अरब, युएई हुँदै ओमानसम्म रेल यात्रा गर्न सक्नेछन्।

परियोजनाअन्तर्गत यात्रुवाहक रेललाई प्रतिघण्टा २०० किलोमिटर र मालवाहक रेललाई ८० देखि १२० किलोमिटर प्रतिघण्टाको गतिमा सञ्चालन गर्ने योजना छ। यसले साउदी अरबको दम्मामबाट कतारसम्मको यात्रा करिब एक घण्टामै पूरा गर्न सकिने अनुमान गरिएको छ।

इन्जिनियरिङ दृष्टिकोणले पनि यो परियोजनालाई विशेष महत्व दिइएको छ। विभिन्न देशलाई जोड्न समुद्रमाथि विशेष पुल तथा रेलमार्ग निर्माण गरिनेछ। साउदी अरबको दम्मामलाई रेल नेटवर्कको मुख्य केन्द्रका रूपमा विकास गरिनेछ, जहाँ कुवेतबाट आउने रेलमार्ग पनि जोडिनेछ।

बहराइन र साउदी अरबलाई जोड्न २५ किलोमिटर लामो ‘किंग हमद कजवे’ निर्माण गरिने योजना छ। दुई रेल ट्र्याकसहितको यो संरचना बहराइनको आन्तरिक मेट्रो प्रणालीसँग पनि आबद्ध हुनेछ।

कुवेत रेल सञ्जालको उत्तरी प्रवेशद्वार हुनेछ। कुवेत सिटीबाट करिब २५ किलोमिटर टाढा शदादियामा निर्माणाधीन केन्द्रीय स्टेशनबाट रेलमार्ग साउदी हुँदै युएई र अन्ततः ओमानको राजधानी मस्कटसम्म पुग्नेछ।

विश्लेषकहरूका अनुसार जीसीसी रेलवे परियोजनाले खाडी क्षेत्रमा व्यापार, पर्यटन र आर्थिक एकीकरणलाई नयाँ उचाइमा पुर्‍याउनेछ। साथै, क्षेत्रीय आपूर्ति प्रणालीलाई मजबुत बनाउनुका साथै कार्बन उत्सर्जन न्यूनीकरणमार्फत वातावरण संरक्षणमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।


क्याटेगोरी : अन्तराष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट