एम्बाप्पेको चम्किलो प्रदर्शनसँगै स्विडेनलाई हराउँदै फ्रान्स विश्वकपको नकआउट चरणमा
काठमाडौं । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत न्यूयोर्कको मेटलाइफ रंगशालामा सम्पन्न खेलमा फ्रान्सले स्विडेनलाई ३–० गोलअन्तरले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। अब फ्रान्सले नकआउट चरणमा पाराग्वेसँग प्रतिस्पर्धा गर्नेछ।
फ्रान्सको जितमा कप्तान तथा स्टार स्ट्राइकर किलियन एम्बाप्पे नायक बने। उनले दुई गोल गर्दै टोलीको जितमा महत्वपूर्ण योगदान दिए।पहिलो हाफको अन्तिम मिनेटमा एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई १–० को अग्रता दिलाएका थिए। दोस्रो हाफमा थप आक्रामक बनेको फ्रान्सका लागि ५३औँ मिनेटमा युवा विङ्गर ब्राडली बारकोलाले गोल गर्दै अग्रता दोब्बर बनाए।
खेलको ७४औँ मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गरेपछि फ्रान्सले ३–० को सहज जित सुनिश्चित गर्यो। स्विडेनले खेलभरि फ्रान्सको बलियो रक्षापङ्क्ति भेद्न नसक्दा गोलरहित रहन बाध्य भयो।यसअघि अन्तिम ३२ अन्तर्गत भएको अर्को खेलमा नर्वेले आइभरी कोस्टलाई २–१ ले हराउँदै अन्तिम १६ मा स्थान बनाएको थियो। नर्वेले अब क्वार्टरफाइनल प्रवेशका लागि ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ।
यता, प्रतियोगिताअन्तर्गत आज बिहान ६ः४५ बजे मेक्सिको र इक्वेडोरबीच अर्को महत्वपूर्ण खेल हुने तालिका रहेको छ।
क्याटेगोरी : खेलकुद













प्रतिक्रिया