Techie IT
KTM Post
बुधबार, १७ असार, २०८३

विश्वकपमा हारपछि जसले दिए प्रशिक्षकबाट राजीनामा


काठमाडौं । फिफा विश्वकप २०२६ को समूह चरण सम्पन्न भइसके पनि प्रतियोगिताको चर्चा भने अझै सेलाएको छैन। यसपटक समूह चरणबाटै बाहिरिएका केही टोलीका मुख्य प्रशिक्षकले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन् भने केहीलाई सम्बन्धित फुटबल संघले बर्खास्त गरेको छ।

समूह चरणमै यात्रा टुंगिएपछि चेक रिपब्लिकका मुख्य प्रशिक्षक मिरोस्लाभ कुबेकले पदबाट राजीनामा दिएका छन्। आयोजक मेक्सिको, दक्षिण अफ्रिका र दक्षिण कोरिया रहेको समूह ‘ए’मा रहेको चेक रिपब्लिक केवल एक अंक जोड्दै तालिकाको पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिएको थियो।

७४ वर्षीय कुबेकले चेक रिपब्लिकलाई दुई दशकपछि विश्वकपमा फर्काएका थिए। सन् २००६ पछि पहिलो पटक विश्वकप खेलेको टोली समूह चरण पार गर्न भने असफल रह्यो। चेक फुटबल संघका अध्यक्ष डेभिड टुन्डाले कुबेकले व्यक्तिगत रूपमा पद त्याग गर्ने निर्णय सुनाएको र त्यसलाई स्वीकार गरिएको जानकारी दिएका छन्।

दक्षिण कोरियाका प्रशिक्षक होङ म्युङ–बोले पनि विश्वकपबाट बाहिरिएपछि पदबाट राजीनामा दिएका छन्। कमजोर प्रदर्शनपछि दक्षिण कोरियाली राष्ट्रपतिले राष्ट्रिय टोलीको प्रदर्शनबारे अनुसन्धान गर्न निर्देशन दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

५७ वर्षीय होङले मेक्सिकोस्थित टोलीको शिविर छाड्नुअघि समर्थकसँग क्षमायाचना गर्दै आफ्नो राजीनामा घोषणा गरेका थिए। यसअघि सन् २०१४ को ब्राजिल विश्वकपमा पनि उनको नेतृत्वमा दक्षिण कोरिया समूह चरण पार गर्न असफल भएको थियो।

यस्तै, स्कटल्यान्डका मुख्य प्रशिक्षक स्टिभ क्लार्कले पनि पद त्याग गरेका छन्। उनले विश्वकपअघि नै टोली नकआउट चरणमा पुग्न नसके आफू पदबाट अलग हुने संकेत दिएका थिए।

ब्राजिल, मोरक्को र हाइटी रहेको समूहबाट स्कटल्यान्ड अन्तिम १६ मा पुग्न नसकेपछि ६२ वर्षीय क्लार्कले सात वर्ष लामो कार्यकाल टुंग्याएका हुन्। उनले युरो २०२८ र विश्वकप २०३० सम्मका लागि चार वर्षे नयाँ सम्झौतामा हस्ताक्षर गरेको एक महिनापछि नै पद छोड्ने निर्णय गरेका हुन्।

ट्युनिसियाका प्रशिक्षक हर्भे रेनार्डले पनि नेदरल्यान्ड्ससँग ३–१ को हारपछि टोली छाड्नुपरेको थियो। यसअघि स्विडेनसँग ५–१ को पराजयपछि प्रशिक्षक साब्री लामोचीलाई पदमुक्त गरिएको थियो।

विश्वकपको समूह चरणपछि विभिन्न टोलीमा देखिएको प्रशिक्षक परिवर्तनले आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि नयाँ रणनीति र नेतृत्वको खोजी सुरु भएको संकेत गरेको छ।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


ताजा अपडेट