पासपोर्ट खरिद प्रकरणमा जर्मनीको स्पष्टिकरण, नेपाललाई कुनै चेतावनी दिइएको छैन’
काठमाडौं । जर्मनीले पासपोर्ट खरिद प्रकरणका कुनै सम्भावित परिणाम र कारबाहीबारे नेपाललाई कुनै चेतावनी नदिएको जनाएको छ ।
नेपालसँग सम्बन्धित राहदानी खरिद प्रकरणबारे सार्वजनिक भएका केही तथ्यहरू गलत रहेको भन्दै तीन बुँदे स्पष्टीकरण सार्वजनिक गरेको छ ।
जर्मन दूतावास काठमाडौंले बुधबार जारी गरेको स्पष्टीकरणअनुसार, बर्लिनस्थित नेपाली कार्यवाहक राजदूत लाई जर्मन संघीय विदेश मन्त्रालयमा छलफलका लागि आमन्त्रण गरिएको हो, स्पष्टीकरण माग्दै बोलाइएको होइन। कूटनीतिक अभ्यासमा यी दुई शब्दबीच महत्वपूर्ण भिन्नता हुने जर्मनीको भनाइ छ।
उक्त भेटका क्रममा नेपाल पक्षलाई कुनै विरोधपत्र वा अन्य कुनै आधिकारिक दस्तावेज हस्तान्तरण नगरिएको पनि दूतावासले जनाएको छ ।
यसैगरी, अदालतमा विचाराधीन मुद्दाको आधारमा कुनै सम्भावित परिणाम वा कारबाहीबारे नेपाललाई कुनै चेतावनीसमेत नदिइएको उल्लेख छ ।
जर्मनीले आफ्नो संविधानले न्यायपालिकाको स्वतन्त्रतालाई सुनिश्चित गरेको उल्लेख गर्दै न्यायिक प्रक्रियाप्रति पूर्ण सम्मान रहेको जनाएको छ । साथै, दूतावासले सिद्धान्ततः विचाराधीन अदालतका मुद्दाबारे टिप्पणी नगर्ने नीति अनुरूप यस प्रकरणमा पनि कुनै टिप्पणी नगरेको स्पष्ट पारेको छ।

क्याटेगोरी : समाचार













प्रतिक्रिया