भारत र पाकिस्तानका ११७ प्रबुद्ध नागरिकद्वारा संयुक्त पत्र, प्रधानमन्त्री मोदी र शहबाज सरिफलाई सम्बन्ध सुधार गर्न अपिल
काठमाडौं । भारत र पाकिस्तानबीच लामो समयदेखि जारी राजनीतिक तथा कूटनीतिक गतिरोध अन्त्य गरी द्विपक्षीय सम्बन्धलाई सामान्य बनाउने उद्देश्यका साथ दुवै देशका ११७ जना प्रमुख हस्तीहरूले एक संयुक्त खुला पत्र जारी गरेका छन्।
भारतका ६१ र पाकिस्तानका ५६ जना वरिष्ठ राजनीतिज्ञ, पूर्व कूटनीतिज्ञ, बुद्धिजीवी, पत्रकार, कानुनविद् र सामाजिक अभियन्ताहरूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्ताानी प्रधानमन्त्री शहबाज सरिफलाई सम्बोधन गर्दै यो संयुक्त अपिल गरेका हुन्।
नयाँ दिल्लीस्थित थिङ्क ट्याङ्क ‘सेन्टर फर पीस एण्ड प्रोग्रेस’ का अध्यक्ष ओ.पी. शाहको समन्वयमा यो विशेष पहल गरिएको हो। पत्रमा भनिएको छ – भारत र पाकिस्तान सम्मिलित दक्षिण एसियाली क्षेत्र विश्वको झण्डै एक-चौथाई (दुई अर्ब) जनसङ्ख्याको घर हो, जहाँ ठूलो सङ्ख्यामा ऊर्जावान् युवाहरू रहेका छन्। तर, दुई देशबीचको निरन्तरको तनाव र अविश्वासले गर्दा ती युवाहरूको सुरक्षित भविष्य, रोजगारी र क्षेत्रीय विकासका अवसरहरू पूर्ण रूपमा अवरुद्ध भइरहेका छन्।
यस संयुक्त पत्रमार्फत दुवै देशका प्रबुद्ध नागरिकहरूले आ-आफ्ना सरकार प्रमुखहरूलाई “एक्लोपनको सट्टा संलग्नता, शत्रुताको सट्टा संवाद र टकरावको सट्टा सहयोग” को मार्ग रोज्न विनम्र अनुरोध गरेका छन्। दशकौँदेखिको कूटनीतिक दूरीले दुवै राष्ट्रको सामूहिक क्षमतालाई कमजोर बनाएको र ठूलो आर्थिक तथा सामाजिक मूल्य चुकाउनु परेको उल्लेख गर्दै पत्रमा वार्ता नै सबै समस्या समाधानको एक मात्र व्यावहारिक विकल्प भएको स्पष्ट पारिएको छ।
दुवै देशका हस्ताक्षरकर्ताहरूले भारत र पाकिस्तान सरकारसमक्ष सम्बन्ध सुधारका लागि विभिन्न विश्वास अभिवृद्धि गर्ने उपायहरू तत्काल लागू गर्न ठोस सुझावहरू प्रस्तुत गरेका छन् । जसमा भनिएको छ – नयाँ दिल्ली र इस्लामाबादमा पूर्ण कूटनीतिक सम्बन्ध बहाल गर्दै दुवै देशमा पुनः उच्चायुक्त हरूको नियुक्ति गरियोस् र आम नागरिकका लागि सामान्य भिसा सेवा तत्काल सुचारु गरियोस्।
अटारी-वाघा स्थलमार्गलाई व्यापार र आवतजावतका लागि पूर्ण रूपमा खोलियोस्। साथै, श्रीनगर-मुजफ्फरवाद र लाहोर-दिल्ली बस सेवाका साथै ‘सम्झौता एक्सप्रेस’ र ‘थार एक्सप्रेस’ रेल सेवाहरू पुनः सञ्चालनमा ल्याइयोस्। व्यवसायिक विमानहरूका लागि दुवै देशको हवाई क्षेत्र खुल्ला गर्दा यात्राको समय र खर्च घट्ने सुझाव दिइएको छ।
दुवै देशमा रहेका सांस्कृतिक तथा ऐतिहासिक सम्पदाहरूको भ्रमणलाई सहज बनाइयोस्। यस अन्तर्गत कारतारपुर साहिब कोरिडोरलाई थप व्यवस्थित बनाउनुका साथै कश्मीरी पण्डितहरूको पवित्र धार्मिक स्थल, पाकिस्तानको नीलम उपत्यकामा रहेको ‘शारदा पीठ’ लाई श्रद्धालुहरूका लागि खुल्ला गर्न विशेष अपिल गरिएको छ।
प्रबुद्ध वर्गले दुवै देशका सञ्चारमाध्यम र डिजिटल प्लेटफर्महरूमा लगाइएका प्रतिबन्धहरू हटाउन, पत्रकारहरूलाई स्वतन्त्र रूपमा रिपोर्टिङका लागि यात्रा अनुमति दिन र प्रतिनिधिमण्डलहरूको आदानप्रदान बढाउन माग गरेका छन्, जसले गर्दा भ्रामक सूचना लाई रोक्न मद्दत पुग्नेछ।यस पत्रमा जम्मू-कस्मिर विवाद लगायतका सबै बाँकी रहेका थाती मुद्दाहरूमा पुनः बृहत् द्विपक्षीय वार्ता सुरु गर्न र सन् २००४ देखि २००७ को बीचमा तय गरिएको रूपरेखा लाई आधार मानी असैन्यीकरण र तनाव कम गर्ने दिशामा कदम चाल्न आग्रह गरिएको छ।
यस संयुक्त अपिलमा हस्ताक्षर गर्ने प्रमुख भारतीय व्यक्तित्वहरूमा जम्मू-कस्मिरका पूर्व मुख्यमन्त्रीहरू डा. फारुक अब्दुल्ला र महबूबा मुफ्ती, पृथकतावादी नेता मिरवाइज उमर फारुक, कांग्रेस नेता मणिशंकर अय्यर, राज्यसभा सांसद मनोज झा, र भारतीय खुफिया एजेन्सी ‘र’ का पूर्व प्रमुख ए.एस. दुलत लगायत छन् ।
त्यस्तै, पाकिस्तानको तर्फबाट पूर्व विदेशमन्त्री खुर्शीद महमूद कसूरी, पूर्व कूटनीतिज्ञ अशरफ जहांगीर काजी, राष्ट्रिय सभाका सदस्य इस्फान्यार भण्डारा र प्रसिद्ध आणविक भौतिकशास्त्री एवं लेखक परवेज हुदभोय जस्ता प्रतिष्ठित व्यक्तिहरू सामेल छन् । हस्ताक्षरकर्ताहरूले यो अपिल कुनै राजनीतिक पक्षपोषण नभई दुई अर्ब जनताको कल्याण र दक्षिण एसियाको स्थायी शान्तिका लागि गरिएको सामूहिक पुकार भएको बताएका छन्।
क्याटेगोरी : अन्तराष्ट्रिय













प्रतिक्रिया