सात कारोबार दिनको गिरावटपछि बढ्यो नेप्से, कारोबार रकम ३ अर्ब ८६ करोड
काठमाडौं । बुधबार नेप्से परिसूचक बढेर बन्द भएको छ। पछिल्ला सात कारोबार दिनदेखि निरन्तर घटिरहेको नेप्से, यस दिन भने बढेर बन्द भएको हो।
यस दिन नेप्से परिसूचक ४४.५९ अंक बढेर २६५२.९३ विन्दुमा पुगेको छ।नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार ३ अर्ब २५ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३६२ स्टकको ५६ हजार ८५० पटकको कारोबारमा ३ अर्ब ८६ करोड ११ लाख ८३ हजार रुपैयाँबराबरको ९५ लाख ४७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक २।६० प्रतिशत बढेको छ। त्यस्तै, यस दिन जलविद्युत, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, विकास बैंक, वित्त, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, लघुवित्त र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।
कारोबार रकमका आधारमा यस दिन लक्ष्मी सनराइज बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन २८ करोड ८४ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन रिलायन्स स्पिनिङ्ग मिल्सको साढे १७ करोड रुपैयाँबराबरको शेयर किनबेच भएको छ भने आँखु खोला जलविद्युत कम्पनीको कारोबार रकम १७ करोड रुपैयाँ र भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको कारोबार रकम १६ करोड रुपैयाँ नाघेको छ।
यस दिन स्नो रिभर्सको शेयर सकारात्मक सर्किट लागेको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ६८ रुपैयाँ १० पैसा बढेर ५२२ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन सिवाईसी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १४ प्रतिशतभन्दा बढी बढेको छ भने भुजुङ्ग हाइड्रोपावरको शेयरमूल्य करिब १४ प्रतिशत बढेको छ।
क्याटेगोरी : अर्थ













प्रतिक्रिया