‘दान होइन, काम चाहियो’ : जीविकोपार्जनको अधिकार माग्दै दृष्टिविहीनहरू ९ दिनदेखि माइतीघरमा धर्नामा
काठमाडौं । आधारभूत अधिकार र सम्मानजनक जीविकोपार्जनको सुनिश्चितताको माग गर्दै दृष्टिविहीन व्यक्तिहरू विगत नौ दिनदेखि माइतीघर मण्डलामा निरन्तर धर्नामा बसेका छन्। उनीहरूको भनाइमा आफूहरू नयाँ सुविधा माग्न नभई आफ्नै सीप र श्रमको सम्मान गर्दै जीवनयापन गर्न पाउने वातावरणको माग लिएर आन्दोलनमा उत्रिएका हुन्।
आन्दोलनकारीहरूले सरकारले योग्यता अनुसार रोजगारी उपलब्ध गराउन नसके कम्तीमा सडकमा सांगीतिक प्रस्तुति गर्न र धुपबत्ती बिक्री गरेर जीविकोपार्जन गर्न पाउने व्यवस्था गर्नुपर्ने माग गरेका छन्। तर आन्दोलन सुरु भएको नौ दिन बितिसक्दा पनि राज्यको तर्फबाट कुनै ठोस पहल नभएको उनीहरूको गुनासो छ।
भक्तपुरका हेम थापामगरले धुपबत्ती बिक्री र सडकमा गीत गाएर परिवार पाल्दै आएको भए पनि पछिल्लो समय ती दुवै माध्यममा रोक लगाइएकाले आन्दोलनमा उत्रिन बाध्य भएको बताए। सरकारले या त रोजगारीको व्यवस्था गर्नुपर्ने, अन्यथा नागरिकको गास, बास र कपासको जिम्मेवारी लिनुपर्ने उनको भनाइ छ।
धादिङबेँसीका ३४ वर्षीय दलबहादुर राना मगरले शिक्षा संकायबाट स्नातक र शिक्षण अनुमति पत्र प्राप्त गरे पनि योग्यता अनुसारको रोजगारी नपाएको बताए। शिक्षक सेवा आयोगमा दुईपटक असफल भएपछि धुपबत्ती बिक्री र सडकमा सांगीतिक प्रस्तुति गरेर परिवार चलाउँदै आएको उल्लेख गर्दै उनले अहिले ती माध्यमसमेत बन्द हुँदा जीविकोपार्जन संकटमा परेको बताए। फरक क्षमता भएका नागरिकका लागि राज्यले उपयुक्त रोजगारी सिर्जना गर्नुपर्ने उनको माग छ।
सानोठिमीकी न्यून दृष्टिविहीन सीता राउतले घरघरमा धुपबत्ती बिक्री गरेर छोरीको पालनपोषण गर्दै आएको बताइन्। सामाजिक सुरक्षा भत्ता मात्रै जीवन धान्न पर्याप्त नभएको भन्दै उनले आफूलाई दान नभई योग्यताअनुसार काम गर्ने अवसर आवश्यक रहेको बताइन्।
जोरपाटीकी समीक्षा चौधरीले महानगरको धरपकडका कारण दृष्टिविहीनहरूले सडकमा सानो व्यापार वा सांगीतिक प्रस्तुति गर्नसमेत नपाइरहेको गुनासो गरिन्। मन्त्रालयमा पटक–पटक ज्ञापनपत्र बुझाउँदा पनि सुनुवाइ नभएको र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीसँग भेटको समयसमेत नपाएपछि आन्दोलन गर्न बाध्य भएको उनको भनाइ छ।
शिक्षा संकायबाट स्नातक गरेकी चौधरीले सरकारी सेवामा अवसर सीमित हुँदा योग्य दृष्टिविहीन नागरिकहरू रोजगारीबाट वञ्चित भइरहेको बताइन्।
आन्दोलनकारीहरूको साझा माग स्पष्ट छ :राज्यले योग्यताअनुसार रोजगारी सुनिश्चित गरोस्, अन्यथा पहिलेजस्तै सम्मानपूर्वक आफ्नो सीप प्रयोग गरेर सडकमा सांगीतिक प्रस्तुति गर्न र सानो व्यापारमार्फत जीविकोपार्जन गर्न पाउने वातावरण बनाइयोस्। उनीहरूले आफ्नो आन्दोलनलाई अधिकार र सम्मानको लडाइँका रूपमा व्याख्या गर्दै सरकारसँग तत्काल संवाद र समाधानको अपेक्षा गरेका छन्।
क्याटेगोरी : समाचार













प्रतिक्रिया