Techie IT
KTM Post
बुधबार, १७ असार, २०८३

शी जिनपिङको कडा चेतावनी: जुनसुकै मूल्य चुकाएर भए पनि ताइवानलाई चीनमा मिलाएरै छाड्ने


काठमाडौं । चिनियाँ राष्ट्रपति तथा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव शी जिनपिङले ताइवानलाई मुख्य भूमि चीनमा विलय गराउने आफ्नो देशको ऐतिहासिक लक्ष्यलाई जुनसुकै मूल्य चुकाएर भए पनि पूरा गरेरै छाड्ने कडा चेतावनी दिएका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टीको स्थापनाको १०५औँ वर्षगाँठका अवसरमा बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’ मा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति जिनपिङले राष्ट्रिय संप्रभुता, सुरक्षा र विकास हितको रक्षाका लागि चीनले हरसम्भव कदम चाल्ने स्पष्ट पारेका हुन् ।

उनले नयाँ भूराजनीतिक परिस्थितिमा ताइवान मुद्दा समाधानका लागि पार्टीको रणनीतिक योजनालाई पूर्ण रूपमा लागू गरिने बताउँदै ताइवानको स्वतन्त्रताको वकालत गर्ने पृथकतावादी तत्वहरू र यसमा चासो राख्ने बाह्य शक्तिहरू (विशेष गरी अमेरिका) विरुद्ध चीनले कडा र निर्णायक कारबाही गर्ने घोषणा गरेका छन् । यस मामिलामा कुनै पनि किसिमको वैदेशिक हस्तक्षेप चीनलाई किमार्थ सह्य नहुने उनको भनाइ थियो।

समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति जिनपिङले देशको रक्षा र अक्षुण्णताका लागि एक शक्तिशाली र विश्वस्तरीय सैन्य बलको आवश्यकतामाथि विशेष जोड दिएका छन्। उनले बलियो देशका लागि बलियो सेना अनिवार्य सर्त भएको उल्लेख गर्दै चिनियाँ जनमुक्ति सेनालाई अझ द्रुत गतिमा आधुनिक र विश्वकै सर्वोत्कृष्ट स्तरमा स्तरोन्नति गरिने बताए।

यो सेना पूर्ण रूपमा कम्युनिष्ट पार्टीको प्रत्यक्ष नेतृत्व र नियन्त्रणमा रहने उनले दोहोर्‍याएका छन्। हालैका वर्षहरूमा चिनियाँ सेनाभित्र भ्रष्टाचार विरोधी अभियानका नाममा कैयौँ वरिष्ठ जनरलहरूलाई बर्खास्त गरी पार्टी र नेतृत्वप्रति पूर्ण बफादार सैन्य संरचना तयार पारिएको पृष्ठभूमिमा राष्ट्रपति जिनपिङको यो सैन्य सुदृढीकरणको बयान आएको हो।

आफ्नो १४ वर्षे शासनकालको उपलब्धिलाई उल्लेख गर्दै राष्ट्रपति जिनपिङले चीनको तीव्र औद्योगिकीकरण र आर्थिक विकासको मोडललाई विश्वका अन्य विकासोन्मुख देशहरूका लागि एउटा उत्कृष्ट र अनुकरणीय उदाहरणका रूपमा प्रस्तुत गरेका छन् । पश्चिमा धनी राष्ट्रहरूले शताब्दीयौँ लगाएर हासिल गरेको औद्योगिक र आर्थिक प्रगति चीनले केही दशकको छोटो अवधिमै पूरा गरेर देखाएको दाबी राष्ट्रपति जिनपिङले गरेका छन् ।

वर्तमान अन्तर्राष्ट्रिय व्यवस्था र वैश्विक प्रणालीले विकासोन्मुख देशहरूको हित र भावनालाई अझ राम्रोसँग प्रतिनिधित्व गर्नुपर्नेमा जोड दिँदै चीनले विद्यमान विश्व व्यवस्थालाई विस्थापित गर्न नचाहेको तर यसमा सुधार आवश्यक रहेको उनले स्पष्ट पारे ।

विश्व यतिबेला ठूलो उथलपुथल र रूपान्तरणको कठिन मोडमा रहेको स्वीकार गर्दै जिनपिङले भने, “हाम्रो अगाडि जतिसुकै शक्तिशाली शत्रु वा गम्भीर चुनौतीहरू किन नआउन्, चीन आफ्नो मार्गबाट पछि हट्ने छैन। हामी मानव जातिको साझा भविष्यका लागि चिनियाँ बुद्धि, समाधान र शक्ति प्रदान गर्न प्रतिबद्ध छौँ।”

ताइवान स्ट्रेटमा चीनको सैन्य गतिविधि र युद्धपोतहरूको गस्ती निरन्तर बढिरहेका बेला चिनियाँ राष्ट्रपतिको यो कडा अभिव्यक्ति आएको हो। केही समयअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग बेइजिङमा भएको दुई दिवसीय शिखर सम्मेलनमा पनि जिनपिङले ताइवानको मुद्दा चीन-अमेरिका सम्बन्धको सबैभन्दा संवेदनशील र रातो रेखा भएको भन्दै ताइवानको स्वतन्त्रता र यस क्षेत्रको शान्ति सँगसँगै जान नसक्ने स्पष्ट चेतावनी दिएका थिए । राष्ट्रपति जिनपिङको यस शताब्दी भाषणले चीन ताइवान विलयको आफ्नो राष्ट्रिय गौरवको लक्ष्य प्राप्तिका लागि सैन्य र कूटनीतिक दुवै रूपमा आक्रामक ढंगले अघि बढ्न तयार रहेको प्रस्ट पारेको छ।


क्याटेगोरी : अन्तराष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट