मनसुनजन्य विपद् प्रतिकार्य : देशैभर सेना र सशस्त्रको उच्च सतर्कता, उद्धारमा हेलिकप्टर र बेलीब्रिज ‘स्ट्यान्डबाइ’
काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय बनेसँगै बुधवार र बिहीवार मौसम थप प्रतिकूल रहने अनुमान गरिएको छ । बंगालको खाडी क्षेत्रमा विकसित न्यूनचापीय प्रणालीका कारण जलवाष्पयुक्त हावाको प्रवाह बढ्दा मनसुनी गतिविधि सशक्त बनेको मौसमविद्हरूले बताएका छन् । सम्भावित विपद्को जोखिम कम गर्न र प्रतिकार्यका लागि सरकारका सबै संयन्त्र सक्रियताका साथ लागिपरेका छन् ।
विपद्का बेला तत्काल उद्धार टोली पुग्न सहज होस् भनेर सशस्त्र प्रहरी बल ९एपीएफ० ले देशका ५४ अति संवेदनशील र जोखिमयुक्त स्थानमा ‘अस्थायी मनसुन प्रतिकार्य बेस’ स्थापना गरेको छ । वर्षाजन्य विपद् हुने १६ अति जोखिमयुक्त स्थानमा जनशक्ति र स्रोतसाधनसहित स्थायी बेससमेत राखिएको छ ।
विपद्पछिको उद्धारका लागि गोताखोरसहितको टोलीलाई आवश्यक उपकरण दिएर जोखिमयुक्त स्थानमा खटाइएको छ । विपद् प्रतिकार्यका लागि सशस्त्र प्रहरी २४ सै घण्टा तयारी अवस्थामा रहेको र विपद् व्यवस्थापन प्राधिकरण, राष्ट्रिय तथा प्रादेशिक आपतकालीन कार्य सञ्चालन केन्द्रसँग निरन्तर समन्वय भइरहेको छ ।
विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन सशस्त्र प्रहरीले ‘एपीएफ कम्युनिटी अलर्ट सिस्टम’ मोबाइल एप सञ्चालनमा ल्याएको छ । यस प्रणालीमार्फत समुदायबाट आएको सूचना तत्काल बाहिनी तहको अपरेसनल रुममा पुग्ने र उद्धार टोली परिचालन हुने व्यवस्था मिलाइएको छ ।
एपमा रहेको विपद्को प्रकारमा थिच्नेबित्तिकै लोकेसनसहितको सूचना प्राप्त हुने र नजिकको बाहिनीबाट टोली खटिने प्रवक्ता कार्कीले बताए । यसका साथै, जोखिममा परेका नागरिकको सहजताका लागि केन्द्र र प्रत्येक बाहिनीमा १११४ नम्बरको हटलाइन सेवा सञ्चालनमा ल्याइएको छ ।
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले विपद् व्यवस्थापनका लागि राज्यका संयन्त्र सक्रिय भए पनि छरिएको बस्तीका कारण चुनौती रहेको जनाइएको छ। पहाडमा घरहरू छरिएर रहेको र तराईमा पनि एकीकृत बस्ती नहुँदा प्रत्येक घरसम्म राज्यको पहुँच पुर्याउन कठिन हुने गरेको छ ।
राजमार्गहरू नदी किनार र पहिरोको जोखिमयुक्त क्षेत्रमा रहेकाले दुर्घटना न्यूनीकरणका लागि सडकका ‘ब्ल्याक स्पट’ पहिचान गर्नुपर्ने जनाइएको छ । चबवब चबm दबकलभत
यसैगरी, नेपाली सेनाले पनि मनसुनजन्य विपद्को जोखिमलाई मध्यनजर गर्दै तीन चरणको विशेष पूर्वतयारी कार्ययोजना अघि सारेको छ । सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार पहिलो चरणमा विगतका घटनाको अध्ययन गरी योजना परिमार्जन तथा तल्लो तहसम्म संयुक्त अभ्यास गरिएका छन् । दोस्रो चरणअन्तर्गत गण र गुल्म तहमा तत्काल परिचालन हुन सक्ने गरी फौज तैनाथ गरिएको छ भने पृतना तहमा राहत सामग्रीसहितको ‘कम्पोजिट सर्च एन्ड रेस्क्यु’ टोली तयारी अवस्थामा राखिएको छ ।
बाढी र पहिरोले सडक अवरुद्ध हुने जोखिमलाई ध्यानमा राख्दै धादिङको गजुरी, चितवनको भरतपुर र बारामा ‘बेली ब्रिज’ तयारी अवस्थामा राखिएको छ । काठमाडौंमा यान्त्रिक पुल र आपत्कालीन चिकित्सा सुविधाका लागि फिल्ड अस्पतालहरू तयारी हालतमा राखिएको सेनाले जनाएको छ । हवाई उद्धारका लागि इटहरी र सुर्खेतमा हेलिकप्टर पूर्वतैनाथ गरिसकिएको छ भने मौसमको अवस्था हेरी तत्काल परिचालन हुने गरी काठमाडौंमा थप दुईवटा हेलिकप्टर स्ट्यान्डबाइ राखिएका छन् । विमानस्थलहरूमा खोज तथा उद्धार टोली परिचालन गरिएको छ ।
तेस्रो चरणअन्तर्गत सामुदायिक विपद् प्रतिकार्य तालिममार्फत स्थानीय स्वयंसेवक तयार गरिएको प्रवक्ता बस्नेतले बताए । सेनाले विपद्का घटना भए तत्काल स्थानीय वा जिल्ला विपद् व्यवस्थापन समिति, नजिकको प्रहरी युनिट वा नेपाली सेनालाई जानकारी गराउन र सरकारले जारी गर्ने मौसम पूर्वानुमानको नियमित अनुसरण गर्न सर्वसाधारणलाई अपिल गरेको छ ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया