दुग्ध विकास संस्थानका पूर्व प्रबन्ध निर्देशक शत्रुघ्नप्रसाद साह भ्रष्टाचार मुद्दामा दोषी ठहर
काठमाडौं । सर्वोच्च अदालतले दुग्ध विकास संस्थानका तत्कालीन प्रबन्ध निर्देशक शत्रुघ्नप्रसाद साहलाई गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा दोषी ठहर गर्दै विशेष अदालतको फैसला सदर गरेको छ।
न्यायाधीशद्वय विनोद शर्मा र शान्तिसिंह थापाको इजलासले साहविरुद्ध दायर भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतले गरेको निर्णयलाई नै अन्तिम मान्दै दोषी ठहर कायम गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७३ वैशाखमा साह र उनकी पत्नी शुसिला कुमारी साहविरुद्ध करिब २ करोड ३८ लाख रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा दायर गरेको थियो।
विशेष अदालतले २०७५ पुसमा उनलाई दोषी ठहर गर्दै ६८ लाख २४ हजार रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति आर्जन भएको निष्कर्ष निकालेको थियो। सोही आधारमा उनलाई त्यति नै रकम जरिवाना र ९ वर्ष कैद सजाय तोकिएको थियो।
साहले दुग्ध विकास संस्थानमा प्राविधिक अधिकृतदेखि प्रबन्धकसम्मका विभिन्न पदमा काम गरेका थिए। अख्तियारको दाबी अनुसार उनको वैध आम्दानी करिब १ करोड ४४ लाख रुपैयाँ भए पनि कुल सम्पत्ति ३ करोड ८३ लाख रुपैयाँ पुगेको देखिएको थियो, जसमा अस्वाभाविक खर्च र आम्दानीबीच ठूलो अन्तर भेटिएको उल्लेख छ।
सर्वोच्च अदालतको पछिल्लो फैसलासँगै लामो समयदेखि विचाराधीन रहेको यो मुद्दा अन्तिम टुंगोमा पुगेको छ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया