Techie IT
KTM Post
बुधबार, १७ असार, २०८३

नागढुंगा सुरुङमार्ग सञ्चालन तयारी अन्तिम चरणमा, साउनदेखि सवारी गुड्ने


काठमाडौं । देशकै पहिलो सडक सुरुङमार्गका रूपमा निर्माण गरिएको नागढुंगा सुरुङमार्ग आगामी साउनदेखि सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ । सञ्चालनअघि आवश्यक प्राविधिक परीक्षणहरू सफलतापूर्वक सम्पन्न भएका छन् ।

सुरुङमार्गमा प्रयोग हुने सञ्चालन तथा मर्मतसम्भारका सवारीसाधन, आपत्कालीन उद्धार उपकरण तथा सरसफाइ प्रणालीको परीक्षण गरिएको हो । साथै सुरक्षा प्रणाली, भेन्टिलेसन, विद्युत् आपूर्ति, आगलागी नियन्त्रण, सञ्चार, सीसीटीभी निगरानी र ट्राफिक व्यवस्थापन प्रणालीको अन्तिम परीक्षणसमेत भइरहेको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ४ कात्तिक २०७६ मा शिलान्यास गरेको यो परियोजना जापान सरकारको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण गरिएको हो । निर्माणको जिम्मा जापानी कम्पनी हाज्मा–आन्दो कर्पोरेशनले लिएको थियो भने परामर्श सेवामा समेत जापानी कम्पनीहरूको संलग्नता रहेको छ ।

करिब २२ अर्ब रुपैयाँ लागतको यस परियोजनामा अधिकांश खर्च जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहुलियतपूर्ण ऋणबाट व्यहोरिएको हो ।

२.६८ किलोमिटर लामो मुख्य सुरुङसँगै आपत्कालीन उद्धारका लागि छुट्टै सुरुङ निर्माण गरिएको छ । साथै पहुँच सडक, फ्लाइओभर, पुल तथा अन्य संरचनाहरू पनि निर्माण सम्पन्न भएका छन् ।

कोभिड–१९ महामारी, जग्गा अधिग्रहण, प्राविधिक चुनौती र व्यवस्थापकीय कारणले ढिलाइ भए पनि हाल निर्माण कार्य लगभग पूरा भइसकेको छ ।

सुरुङ सञ्चालन भएपछि सुरुमा निश्चित मापदण्डअनुसार मात्र सवारी साधन प्रवेश गराइनेछ । गति सीमा, लेन अनुशासन, सवारी दूरी तथा सुरक्षा नियम कडाइका साथ लागू गरिनेछ । सञ्चालन तथा निगरानी अत्याधुनिक नियन्त्रण केन्द्रबाट गरिने व्यवस्था गरिएको छ ।

सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाडौं उपत्यका प्रवेश तथा बाहिरिने यात्रु तथा मालवाहक सवारीको आवागमन थप सहज, सुरक्षित र छिटो हुने अपेक्षा गरिएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट