Techie IT
KTM Post
बिहीबार, १८ असार, २०८३

मनसुन जोखिम व्यवस्थापनमा सडक विभागको उच्च सतर्कता, २७७ उपकरण तयारी अवस्थामा


काठमाडौं । मनसुनका कारण हुनसक्ने सडक अवरोध र प्राकृतिक विपत्तिलाई मध्यनजर गर्दै सडक विभागले देशभर उच्च सतर्कता अपनाउँदै आवश्यक पूर्वतयारी पूरा गरेको जनाएको छ।

विभागले आफ्ना नियमित कार्यविधिअनुसार राजमार्गहरूमा हुने अवरोध तत्काल हटाई यातायात सञ्चालन निरन्तर राख्ने उद्देश्यसहित विशेष योजना कार्यान्वयनमा ल्याएको हो।

देशभर करिब १५ हजार किलोमिटर सडक सञ्जालमध्ये १० हजार किलोमिटर सबै मौसममा सञ्चालन हुने सडकलाई प्राथमिकतामा राखी जनशक्ति तथा उपकरण परिचालन गरिएको विभागले जनाएको छ।

विभागका अनुसार मुख्य राजमार्गमा पहिरोका कारण सडक अवरुद्ध भए दिउँसोको समयमा आधा घण्टाभित्र प्राविधिक टोली पुग्ने र सामान्य अवस्थामा दुई घण्टाभित्र सडक खुलाउने लक्ष्य निर्धारण गरिएको छ।

प्रविधि र उपकरणको प्रयोग बढाइयो

यस वर्षदेखि सडक विभागले सूचना व्यवस्थापन र समन्वयमा आधुनिक प्रविधिको प्रयोगलाई तीव्र बनाएको छ। महानिर्देशकका अनुसार ‘सेतु’ नामक सफ्टवेयरमार्फत देशभर रहेका २७७ वटा हेभी इक्विपमेन्ट र अपरेटरहरूको लाइभ लोकेसन ट्र्याक गर्ने व्यवस्था मिलाइएको छ।

यान्त्रिक महाशाखा र सिभिल डिभिजन कार्यालयहरूबीच समन्वय गरी जोखिमयुक्त क्षेत्र नजिकै उपकरणहरू तयारी अवस्थामा राखिएको विभागले जनाएको छ।

नेपालको भौगोलिक संवेदनशीलतालाई ध्यानमा राख्दै पहिरोको उच्च जोखिम रहेका स्थानहरू पहिचान गरिएको छ। यद्यपि बजेट र क्षमताका सीमितताका कारण सबै स्थानमा स्थायी रोकथाम सम्भव नभए पनि प्रमुख पहिरो क्षेत्रमा संरचनागत सुधारका काम अघि बढाइएको छ।

नागढुङ्गा–मुग्लिन, नारायणगढ–मुग्लिन र कान्ति लोकपथका प्रमुख पहिरो क्षेत्रमा बायो–इन्जिनियरिङ, रक एङ्करिङ र सर्टक्रिटिङ प्रविधि प्रयोग गरी स्थिरीकरण गरिएको विभागले जनाएको छ।

त्यस्तै झ्याप्ले खोला, महेश खोला र कृष्णभीर जस्ता पुराना तथा जटिल पहिरोहरू नियन्त्रणमा लिइएको छ भने नारायणगढ–मुग्लिन खण्डको तुइन खोला र कान्ति लोकपथका केही स्थानमा काम जारी रहेको विभागले स्पष्ट पारेको छ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट