विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलविरुद्ध ६ दिन म्याद थप भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका उनलाई बिहीबार तेस्रो पटक म्याद थप भएको हो। विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले म्याद थप गरेको हो।
पौडेल असार ८ गते सुर्खेतबाट पक्राउ परेका हुन् । उनलाई सम्पत्ति शुद्धीकरण विभागले पक्राउ गरेको हो । उनले गरेको सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको हो ।
यसअघि असार १५ गते उनलाई तीन दिन हिरासतमा राख्न अनुमति दिइएको थियो। त्यसअघि असार ९ गते ७ दिनका लागि म्याद दिइएको थियो।
हिरासतमा राख्न अनुमति दिएपछि असार १० गते पौडेलकी पत्नी दोमायाले आफ्ना श्रीमानलाई गैरकानुनी रूपमा थुनामा राखेको भन्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।
यो रिटमाथि पनि सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ। न्यायाधीशहरू विनोद शर्मा र नित्यानन्द पाण्डेयको इजलासमा सुनुवाइ भइरहेको हो।
यसअघि मंगलबार न्यायाधीश टेकप्रसाद ढुंगाना र मेघराज पोखरेलको इजलासमा पौडेलको रिटमा सुनुवाइ भएको थियो। उक्त इजलासले विशेष अदालतमा दायर भएको व्यापारी दिपक भट्ट र सुलभ अग्रवाल लगायत विरूद्धको सम्पत्ति शुद्धीकरण, बैंकिङ कसुर, धितोपत्र सम्बन्धी कसुर, बीमा सम्बन्धी कसुरका मुद्दाका फाइल मगाएको थियो।
ती फाइलहरू इजलासमा देखाएर लैजाने गरी पेस गर्न अदालतले आदेश गरेको छ। यसअघि सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको इजलासले असार ११ गते विपक्षीका नाममा कारण देखाउन आदेश दिएको थियो।
क्याटेगोरी : राजनीति












प्रतिक्रिया