Techie IT
KTM Post
बिहीबार, २५ असार, २०८३

तीन प्रदेशमा भारी वर्षाको सम्भावना: महाशाखाद्वारा आवश्यक सतर्कता अपनाउन आग्रह


काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहेकाले अधिकांश क्षेत्रमा बदलीसहित वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वी नेपालमा सरदर स्थानभन्दा केही दक्षिणतर्फ र पश्चिमी क्षेत्रमा सरदर स्थानकै आसपासमा अवस्थित रहेको छ, जसका कारण देशभर मनसुनको प्रभाव कायम रहेको हो।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

दिउँसो यी क्षेत्रमा वर्षाको सम्भावना

आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान गरिएको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि बदली रहने सम्भावना छ भने कोशी, मधेस र बागमती प्रदेशका तराई क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ।

हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। साथै, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थान, कोशी र बागमती प्रदेशका तराईका केही स्थान तथा मधेस प्रदेशका एक-दुई स्थानमा पनि वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

विशेषगरी गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

राति पनि जारी रहने वर्षा

आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने मौसमविद्को अनुमान छ।हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा तथा उच्च हिमाली भेगमा हिमपातसमेत हुन सक्ने सम्भावना रहेको छ।

यस्तै, सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थान, कोशी र कर्णाली प्रदेशका पहाडी क्षेत्र तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको तराई र मधेस प्रदेशका एक-दुई स्थानमा पनि रातिको समयमा मेघगर्जनसहित वर्षा हुन सक्ने जनाइएको छ।

सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिम प्रदेशका केही स्थानमा रातिको समयमा समेत भारी वर्षाको सम्भावना रहेकाले पहाडी क्षेत्रमा पहिरो, भूक्षय तथा तराई र सहरी क्षेत्रमा डुबानको जोखिम बढ्न सक्ने महाशाखाले चेतावनी दिएको छ।

यसलाई मध्यनजर गर्दै नदी किनार, पहिरो प्रभावित क्षेत्र तथा डुबानको जोखिम रहेका स्थानमा बसोबास गर्ने नागरिकलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट