७ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ४ स्थानमा एकतर्फी सवारी संचालन
काठमाडौं । अविरल वर्षासँगै आएको बाढी, पहिरो र सडक मर्मतका कारण आइतबार बिहानसम्म देशभरका मुख्य राजमार्गका ७ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्। पछिल्लो विवरणअनुसार अन्य ४ स्थानमा भने सवारीसाधन एकतर्फी रूपमा मात्र सञ्चालन भइरहेका छन्।
कोशी प्रदेशको भोजपुरस्थित मध्य पहाडी लोकमार्गमा बाढीका कारण एकतर्फी सवारी सञ्चालन भइरहेको छ। बागमती प्रदेशमा सबैभन्दा बढी समस्या देखिएको छ। काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुन्जेबेसी सडकखण्डमा सम्भावित बाढीका कारण सवारी सञ्चालन रोकिएको छ। मकवानपुरको इन्द्रसरोवर–महालक्ष्मी सडकखण्डमा मर्मत कार्य भइरहेकाले सडक पूर्ण रूपमा बन्द गरिएको छ। यो सडक साउन २५ गतेसम्म बन्द रहने जनाइएको छ। त्यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी–कोदारी सडकखण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छ।
गण्डकी प्रदेशमा कास्कीको पोखरा–२२ क्षेत्रमा रहेको सिद्धार्थ राजमार्गमा पहिरोका कारण एकतर्फी सवारी सञ्चालन भइरहेको छ भने स्याङ्जाको ब्यासेरी–बेनी–जोमसोम सडकखण्ड पूर्ण रूपमा बन्द छ।
लुम्बिनी प्रदेशको पाल्पास्थित मालमुल–पाल्पा सडकखण्डमा पहिरो हटाएर सवारी सञ्चालन सुचारु गरिएको प्रहरीले जनाएको छ।
कर्णाली प्रदेशमा रुकुम पश्चिमको आठबिसकोट–रिजुगार्ड जोड्ने भेरी करिडोर अविरल वर्षाका कारण दुई स्थानमा पूर्ण रूपमा अवरुद्ध छ। यस्तै, रोल्पाको परिवर्तन गाउँपालिका–१ शेलाबाङ क्षेत्रमा रहेको घोराही–रुकुम शहीद मार्गमा एकतर्फी सवारी सञ्चालन भइरहेको छ।
त्यसैगरी, सुदूरपश्चिम प्रदेशको बझाङस्थित छविसपाथीभेरा–जालेबगर क्षेत्रमा रहेको जयपृथ्वी राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।
प्रहरीले वर्षायाममा यात्रा गर्नुअघि सम्बन्धित सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न तथा वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

क्याटेगोरी : समाचार













प्रतिक्रिया