Techie IT
KTM Post
आईतबार, २१ असार, २०८३

त्रिभुवन विमानस्थलका अध्यागमन कर्मचारीलाई ढाका टोपी अनिवार्य, गृहमन्त्री गुरुङको निर्देशन


काठमाडौं । गृहमन्त्री सुधन गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीलाई अनिवार्य रूपमा ढाका टोपी लगाउन निर्देशन दिएका छन्।

शुक्रबार राति विमानस्थलको निरीक्षणका क्रममा गृहमन्त्री गुरुङले नेपाल प्रवेश गर्ने विदेशी नागरिकले पहिलोपटक देख्ने सरकारी निकाय अध्यागमन कार्यालय भएकाले त्यहाँ कार्यरत कर्मचारीको पोसाक, प्रस्तुति र व्यवहारले नेपालको अन्तर्राष्ट्रिय छविमा प्रत्यक्ष प्रभाव पार्ने बताए।

उनले नेपालको मौलिक पहिचान झल्काउने ढाका टोपीसहित स्वदेशी पोशाकको प्रयोगलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै यसले राष्ट्रिय पहिचान, संस्कृति र गौरवलाई थप सशक्त रूपमा प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरे।

गृहमन्त्री गुरुङले कर्मचारीलाई सेवाग्राहीप्रति शिष्ट, जिम्मेवार र व्यावसायिक व्यवहार अपनाउन पनि निर्देशन दिएका छन्। उनका अनुसार अध्यागमन सेवा प्रभावकारी, छिटोछरितो र अन्तर्राष्ट्रिय मापदण्डअनुरूप हुनुपर्ने आवश्यकता रहेको छ।

सरकारले जारी गरेको ‘सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका, २०८१’ मा समेत सार्वजनिक निकायमा स्वदेशी उत्पादन तथा पोशाकको प्रयोगलाई प्राथमिकता दिने व्यवस्था रहेकाले सोही नीतिअनुसार ढाका टोपीको प्रयोग अनिवार्य बनाउन निर्देशन दिइएको हो।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट