Techie IT
KTM Post
आईतबार, २१ असार, २०८३

दुई आईजी आज अमेरिका जाँदै, संयुक्त राष्ट्रसंघ सम्मेलनमा सहभागिता


काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेल आइतबार संयुक्त राज्य अमेरिका प्रस्थान गर्दै छन्। दुवै जना न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघ प्रहरी प्रमुखहरूको सम्मेलनमा सहभागी हुन लागेका हुन्।

मन्त्रिपरिषद्ले यसअघि नै दुवै आईजीको विदेश भ्रमण स्वीकृत गरिसकेको छ। संयुक्त राष्ट्रसंघको प्रधान कार्यालयमा जुलाई ७ देखि ९ सम्म आयोजना हुने सम्मेलनमा सदस्य राष्ट्रका प्रहरी प्रमुखहरूको सहभागिता रहनेछ।

यसअघि नेपालबाट यस्तो सम्मेलनमा प्रहरी प्रमुखसँगै युएन शाखाका प्रतिनिधि र आईजीका स्टाफ अधिकृत समेत सहभागी हुने अभ्यास रहँदै आएको थियो। राष्ट्रसंघले पनि सामान्यतया दुई जनासम्मको निमन्त्रणा पठाउने गरेको बताइएको छ। तर यस पटक मन्त्रिपरिषद्ले केवल आईजीद्वयको मात्र भ्रमण स्वीकृत गरेको जनाइएको छ।

आईजीपी कार्की र पौडेलको अनुपस्थितिमा दुवै संगठनको दैनिक प्रशासनिक जिम्मेवारी एआईजीहरूलाई दिइएको छ। नेपाल प्रहरीमा एआईजी राजन अधिकारीलाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको छ भने सशस्त्र प्रहरी बलमा एआईजी वंशीराज दाहाललाई निमित्त जिम्मेवारी तोकिएको हो। दुवै जना आ–आफ्ना संगठनका पहिलो वरीयताका एआईजी हुन्।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट