जगदुल्ला जलविद्युत् आयोजना निर्माण चरणमा, २३ अर्ब लागतमा काम अघि बढ्यो
काठमाडौं । डोल्पामा निर्माण हुने १०६ मेगावाट क्षमताको जगदुल्ला जलविद्युत् आयोजना औपचारिक रूपमा निर्माण चरणमा प्रवेश गरेको छ। करिब २३ अर्ब रुपैयाँ लागत अनुमान गरिएको यो आयोजना अन्तर्गत मुख्य सुरुङमार्ग (टनेल) निर्माणको काम सुरु भएसँगै दीर्घ समयदेखि रहेको अन्यौल अन्त्य भएको छ।
डोल्पाको मुड्केचुला गाउँपालिका–४ स्थित इल क्षेत्रमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीले सुरुङमार्गका लागि पहिलो ब्लास्टिङ गरी निर्माण कार्यको औपचारिक शुभारम्भ गरेका हुन्। अर्धजलाशय प्रणालीमा आधारित यो आयोजना कर्णाली प्रदेशको ऊर्जा उत्पादनमा ‘गेमचेन्जर’ मानिएको छ।
जगदुल्ला हाइड्रोपावरद्वारा प्रस्तावित यस परियोजनाको विस्तृत इन्जिनियरिङ अध्ययन, वातावरणीय प्रभाव मूल्यांकन, जग्गा अधिग्रहण, विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) तथा वित्तीय व्यवस्थापनलगायत सबै मुख्य तयारी पूरा भइसकेका छन्। मुख्य निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएपछि भौतिक काम अघि बढाइएको हो।
कम्पनीका अनुसार आयोजना साढे चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। यससँगै १२४ मेगावाट क्षमताको क्यास्केड आयोजना (जगदुल्ला–ए) पनि समानान्तर रूपमा विकास भइरहेको छ।
आयोजनाका लागि स्वदेशी बैंक तथा वित्तीय संस्थाबाट करिब १६ अर्ब ६६ करोड रुपैयाँ ऋण लगानी सुनिश्चित गरिएको छ। नबिल बैंक, कर्मचारी सञ्चय कोष, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (HIDCL), लक्ष्मी सनराइज बैंक, एभरेस्ट बैंक र एनआईसी एसिया बैंकले सहलगानी गरेका छन्।
यो आयोजना केवल ऊर्जा उत्पादन मात्र नभई कर्णालीको आर्थिक तथा सामाजिक विकासको आधार बन्नेछ। स्थानीय सहभागिता, सरकारी स्वामित्व र स्वदेशी वित्तीय स्रोतको संयोजनमा आयोजना अघि बढाइएको छ।
आयोजना क्षेत्रमा भेरी नदीमाथि १०० मिटर लामो पक्की पुल, पहुँच सडक तथा १० वटा बेली पुल निर्माण भइसकेका छन्। यी पूर्वाधारले आयोजना निर्माणसँगै स्थानीय आवागमन र पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
प्रदेश सरकारको समेत लगानी रहेको यस आयोजनामा विद्युत् उत्पादन कम्पनी लिमिटेड, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी, नेपाल विद्युत् प्राधिकरण र प्रभावित स्थानीय तहहरूको समेत सेयर सहभागिता छ। बाँकी सेयर सर्वसाधारणका लागि खुला गरिने तयारी छ।
आयोजनाबाट वार्षिक करिब २९ करोड रुपैयाँ राजस्व संकलन हुने अनुमान गरिएको छ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया