तेस्रो सातासम्म देशभर ३२.३८ प्रतिशत मात्र धान रोपाइँ, पर्याप्त वर्षा नहुँदा गति सुस्त
काठमाडौं । देशभर चालु आर्थिक वर्ष २०८३/८४ को धान रोपाइँ तेस्रो सातासम्म ३२.३८ प्रतिशत सम्पन्न भएको छ। पर्याप्त वर्षा नहुँदा यस वर्ष रोपाइँको गति सुस्त देखिएको छ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयका अनुसार कुल नेपालमा धान रोपाइँ हुने कुल क्षेत्रफल १३ लाख ७० हजार ६२ हेक्टर रहेकोमा हालसम्म ४ लाख ४३ हजार ५ सय ९५ हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ सम्पन्न भएको छ।
गत वर्ष यही अवधिमा देशभरि ४५ प्रतिशत रोपाइँ भइसकेको थियो । प्रदेशगत तथ्यांकलाई विश्लेषण गर्दा सुदूरपश्चिम प्रदेशमा रोपाइँको अवस्था सबैभन्दा सन्तोषजनक देखिएको छ ।
प्रदेशगत विवरणअनुसार सुदूरपश्चिममा धान खेती हुने कुल १ लाख ५४ हजार ९ सय ५० हेक्टर क्षेत्रफलमध्ये ८९ हजार ७ सय ४२ हेक्टरमा रोपाइँ सकिएको छ । यो भनेको कुल क्षेत्रफलको ५७.९ प्रतिशत हो ।
गत वर्ष यहाँ यसै अवधिमा ८२.८ प्रतिशत रोपाइँ भइसकेको थियो । सुदूरपश्चिम पछि गण्डकी प्रदेशमा ४१ प्रतिशत रोपाइँ भएको छ । गण्डकीमा ९३ हजार ६ सय ६ हेक्टरमध्ये ३८ हजार ३ सय ८९ हेक्टरमा धान रोपिएको छ ।
त्यसैगरी, कर्णाली प्रदेशमा धान खेती हुने ४३ हजार २ सय ९० हेक्टरमध्ये १७ हजार ५ सय ४९ हेक्टर अर्थात् ४०.५ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ । गत वर्ष यो बेला गण्डकीमा ५५.६ प्रतिशत र कर्णालीमा ७१.७ प्रतिशत रोपाइँ भएको थियो ।
लुम्बिनी प्रदेशमा ३ लाख १ हजार ३ सय ७२ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकोमा हालसम्म १ लाख १२ हजार ५ सय ९ हेक्टर अर्थात् ३७.३ प्रतिशतमा मात्र रोपाइँ भएको छ । यो गत वर्षको ५२.१ प्रतिशतको तुलनामा निकै कम हो ।
बागमती प्रदेशमा पनि गत वर्षको ५१.९ प्रतिशतको तुलनामा यस वर्ष ३३.२ प्रतिशत मात्र रोपाइँ भएको छ । बागमतीमा कुल १ लाख १४ हजार ५ सय २४ हेक्टरमध्ये ३८ हजार २६ हेक्टरमा रोपाइँ सकिएको छ ।
तथ्यांकअनुसार कोशी प्रदेशमा २ लाख ७६ हजार ३ सय ८७ हेक्टरमध्ये ८७ हजार ३३ हेक्टर अर्थात् ३१.५ प्रतिशत रोपाइँ भएको छ । गत वर्ष यो बेला यहाँ २९.५ प्रतिशत मात्र रोपाइँ भएको थियो ।
धान उत्पादनको मुख्य केन्द्र मानिने मधेश प्रदेशको अवस्था भने यस वर्ष पनि निराशाजनक छ। देशमै सबैभन्दा धेरै अर्थात् ३ लाख ८५ हजार ९ सय ३३ हेक्टर क्षेत्रफलमा धान खेती हुने यस प्रदेशमा असार तेस्रो सातासम्म ६० हजार ३ सय ४६ हेक्टरमा मात्र रोपाइँ हुन सकेको छ । यो कुल क्षेत्रफलको जम्मा १५.६ प्रतिशत मात्र हो, जुन सबै प्रदेशमध्ये सबैभन्दा न्यून हो । गत वर्ष यसै अवधिमा मधेशमा २५.१ प्रतिशत रोपाइँ भइसकेको थियो ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया