माइक्रोसफ्टले ४,८०० कर्मचारी कटौती गर्ने, एक्सबक्स डिभिजनमा सबैभन्दा ठूलो प्रभाव
काठमाडौं । विश्वप्रसिद्ध प्रविधि कम्पनी माइक्रोसफ्टले करिब ४,८०० कर्मचारी कटौती गर्ने घोषणा गरेको छ। यो कम्पनीको कुल कार्यबलको करिब २.१ प्रतिशत हो। पुनर्संरचना योजनाअन्तर्गत सबैभन्दा बढी प्रभाव एक्सबक्स डिभिजनमा पर्ने भएको छ।
कम्पनीकी कार्यकारी उपाध्यक्ष एमी कोलम्यानले कर्मचारीहरूलाई सम्बोधन गर्दै तीव्र गतिमा परिवर्तन भइरहेको सूचना–प्रविधि उद्योगसँग तालमेल मिलाउन तथा ग्राहकलाई बढी मूल्य प्रदान गर्न सक्ने क्षेत्रहरूमा कम्पनीको ध्यान केन्द्रित गर्न पुनर्संरचना आवश्यक भएको बताएकी छन्।यस योजनाअन्तर्गत एक्सबक्स डिभिजनमा तत्काल १,६०० भन्दा बढी कर्मचारीको रोजगारी समाप्त हुने जनाइएको छ।
हालै एक्सबक्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बनेकी आशा शर्माले कर्मचारीहरूलाई पठाएको सन्देशमा कम्पनी एक्सबक्सको इतिहासकै सबैभन्दा ठूलो पुनर्संरचना प्रक्रियामा रहेको उल्लेख गरेकी छन्। उनका अनुसार आगामी एक वर्षभित्र थप करिब १,६०० रोजगारी कटौती गरिनेछ।पुनर्संरचनाको क्रममा एक्सबक्सअन्तर्गत रहेका चार गेम विकास स्टुडियो—कम्पल्सन गेम्स, डबल फाइन प्रोडक्सन्स, निन्जा थ्योरी र अनडेड ल्याब्स—लाई पनि पुनर्गठन गरिने कम्पनीले जनाएको छ।
आशा शर्माले यी परिवर्तनहरू एक्सबक्सलाई सानो बनाउने उद्देश्यले नभई भविष्यका अवसरलाई लक्षित गरेर गरिएको बताइन्।
उनले भनिन्, “यी निर्णयहरू एक्सबक्सको दीर्घकालीन विकास र भविष्यलाई थप बलियो बनाउनका लागि गरिएका हुन्। इतिहासले भविष्यको तयारी नगर्ने संस्थाहरू पछाडि परेको देखाएको छ, र हामी त्यही गल्ती दोहोर्याउन चाहँदैनौं।”
क्याटेगोरी : अन्तराष्ट्रिय













प्रतिक्रिया