जग्गा विवादमा चक्कु प्रहार : रौतहटको औरैयामा एक जनाको मृत्यु, दुई जना पक्राउ
रौतहट । रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा जग्गा विवाद हिंसात्मक बन्दा एक जनाको ज्यान गएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।
प्रहरीका अनुसार मंगलबार राति करिब ८ बजे स्थानीय रामबहादुर साह, बुटन साह तथा रामऔतार साह र उनका छोरा रामेश्वर साहबीच जग्गाको स्वामित्वको विषयलाई लिएर विवाद भएको थियो। सुरुमा भनाभनका रूपमा सुरु भएको विवाद पछि कुटाकुटमा परिणत भएको थियो।सोही क्रममा रामेश्वर साहले बुटन साहमाथि चक्कु प्रहार गरेको आरोप छ। ढाडमा चक्कु लागेर गम्भीर घाइते भएका बुटन साहलाई उपचारका लागि तत्काल प्रादेशिक अस्पताल गौर लगिएको थियो। तर उपचारकै क्रममा राति करिब ९ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्त गौतमले जानकारी दिएका छन्।
घटनामा रामबहादुर साह पनि टाउकोमा चोट लागेर घाइते भएका छन्। उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ।घटनापछि खटिएको प्रहरी टोलीले चक्कु प्रहारमा संलग्न रहेको आरोपमा रामेश्वर साह र उनका पिता रामऔतार साहलाई नियन्त्रणमा लिएको छ। घटनामा प्रयोग भएको चक्कु समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार घटनाको कारण, संलग्न व्यक्तिहरूको भूमिका तथा अन्य तथ्यबारे अनुसन्धान जारी छ। मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको छ।
प्रहरीले व्यक्तिगत वा जग्गासम्बन्धी विवादलाई हिंसात्मक बनाउनुको सट्टा कानुनी प्रक्रियाबाट समाधान खोज्न स्थानीयवासीलाई आग्रह गरेको छ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया