Techie IT
KTM Post
शुक्रबार, २६ असार, २०८३

दक्षिणी स्पेनमा डढेलो : कम्तीमा ११ जनाको मृत्यु, १९ बेपत्ता


दक्षिणी स्पेनमा लागेको डढेलोमा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ । यस्तै डढेलोमा परी अरू १९ जना बेपत्ता भएका अन्डालुसियाका क्षेत्रीय नेता जुआनमा मोरेनोले बताएको बीबीसील जनाएको छ ।

बिजुलीको तार चुँडिएर भुइँमा खसेका कारण आगलागी शुरू भएको र तीव्र गतिमा नजिकैका जङ्गलहरूमा फैलिएका खबरमा उल्लेख छ । यद्दपि अधिकारीहरूले आगलागीको कारण पुष्टि गरेका छैनन् ।

यस गर्मीयाममा झन्डै ४० डिग्री सेल्सियस तापक्रमसहितको लामो समयसम्म चलेको तातो हावाको लहरका कारण दक्षिणी युरोपभरि डढेलो लागेको छ ।

फ्रान्स, पोर्चुगल र स्पेनमा सयौँ अग्निनियन्त्रकहरू डढेलो निभाउने प्रयास गरिरहेका छन् भने हजारौं मानिसहरू आफ्ना घर छोड्न बाध्य भएका छन् ।

आपत्कालीन सेवाहरूका अनुसार आगलागीका कारण धेरै सडकहरू बन्द भएका छन् र झन्डै १ हजार जनालाई सुरक्षित ठाउँमा सारिएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले मे महिनामा यस वर्ष गर्मीयाममा लाग्ने डढेलो नियन्त्रणका लागि अहिलेसम्मकै ठूलो प्रतिकार्य योजना कार्यान्वयन गर्ने बताउनुभएको थियो ।

ठूला आपत्कालीन अवस्थाहरूमा परिचालन गरिने स्पेनको ‘मिलिटरी इमर्जेन्सी युनिट’ (यूएमई) ले लस ग्यायार्डोसमा आगो निभाउने प्रयासमा सामेल हुने जनाएको छ ।

गएको जुन महिनामा स्पेनमा सन् १९५० यताकै उच्च दैनिक औसत तापक्रमको कीर्तिमान कायम भएको थियो र त्यहाँ केही दिन जुन महिनाकै लागि अहिलेसम्मकै उच्च तापक्रम पनि मापन भएको थियो । देशका केही भागमा ४२ डिग्री सेल्सियससम्म तापक्रम पुग्ने पूर्वानुमान गरिएको थियो ।

कोपरनिकस क्लाइमेट सर्भिसका अनुसार जलवायु परिवर्तनले विश्वभर तापक्रम बढाइरहेको छ र युरोप सबैभन्दा तीव्र गतिमा तातिरहेको महादेश हो । स्पेन विश्वव्यापी औसतको तुलनामा दोब्बर गतिमा तातिरहेको छ ।

यसका कारण गर्मीयाममा तातो हावाको लहर बढ्दै गएको छ, युरोपको जल आपूर्तिमा बढी चाप परेको छ र डढेलो अझ तीव्र बनेको छ ।

 


क्याटेगोरी : अन्तराष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट