अख्तियार दुरुपयोगका प्रमुख आयुक्तकाे सन्देहास्पद भूमिका
नेपालमा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनका लागि स्थापित संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगप्रति जनविश्वास लगातार कमजोर हुँदै गएको छ । यसको मुख्य कारण भ्रष्टाचारका घटना बढ्नु मात्र होइन, ती घटनाको अनुसन्धान र कारबाहीमा देखिएको दोहोरो मापदण्ड पनि हो । पछिल्ला वर्षहरूमा भएका धेरै ठूला घोटाला, अनियमितता र सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनामा अख्तियार प्रमुखकाे भूमिका स्वयं विवादको केन्द्रमा देखपएका छन् ।
राहदानी छपाइ ठेक्का प्रकरण त्यसैको एउटा प्रतिनिधि उदाहरण बनेको छ । अर्बौं रुपैयाँको सार्वजनिक खरिदसँग जोडिएको यो विषय लामो समयसम्म अनुसन्धानको नाममा अल्झाइयो । सार्वजनिक रूपमा उठेका प्रश्नहरू, सम्बन्धित निकायबाट उपलब्ध गराइएका सूचनाहरू र विभिन्न तहबाट आएका गुनासाहरूका बाबजुद प्रभावकारी कदम चालिएको देखिएन । अन्ततः सम्बन्धित अधिकारीहरू पक्राउ परे पनि त्यसअघि किन लामो समयसम्म अनुसन्धान निष्क्रिय जस्तो देखियो भन्ने प्रश्न अझै अनुत्तरित छ ।
अख्तियार जस्तो शक्तिशाली निकायमा नेतृत्व चयन, निर्णय प्रक्रिया र जवाफदेहिताको व्यवस्थामाथि समय–समयमा प्रश्न उठ्ने गरेका छन् । कुनै पनि निकायलाई संवैधानिक हैसियत प्राप्त हुनु मात्र पर्याप्त हुँदैन । त्यसले आफ्नो अधिकार निष्पक्ष, पारदर्शी र सार्वजनिक हितअनुसार प्रयोग गर्न सक्नुपर्छ । तर जब अनुसन्धानको गति राजनीतिक समीकरण, शक्ति सन्तुलन वा व्यक्तिगत सम्बन्धले प्रभावित भएको आभास हुन्छ, त्यतिबेला संस्थाको विश्वसनीयता कमजोर बन्न थाल्छ ।
नेपालको अनुभव हेर्दा साना कर्मचारी, स्थानीय तहका प्रतिनिधि वा निम्न तहका अनियमिततामाथि कारबाही भएको देखिन्छ, तर ठूला राजनीतिक पहुँच भएका व्यक्तिहरूसँग जोडिएका मुद्दा वर्षौंसम्म निष्कर्षविहीन रहने गरेका छन् । यसले आम नागरिकमा एउटा धारणा निर्माण गरेको छ, अख्तियार कमजोरमाथि कडा र शक्तिशालीमाथि नरम छ । यस्तो धारणा लोकतान्त्रिक शासन व्यवस्थाका लागि अत्यन्त खतरनाक हुन्छ ।
सुशासनको आधार निष्पक्षता हो । यदि अनुसन्धान गर्ने निकाय स्वयं राजनीतिक प्रभाव, समूहगत स्वार्थ वा शक्ति केन्द्रहरूको छायाँबाट मुक्त हुन सकेन भने भ्रष्टाचारविरुद्धको अभियान नारामा मात्रै सीमित हुन्छ । त्यसैले अख्तियारलाई बलियो बनाउने नाममा अधिकार थप्ने होइन, त्यसको नेतृत्व र निर्णय प्रक्रियालाई पनि थप जवाफदेही बनाउनु आवश्यक छ ।
अख्तियार प्रमुख प्रेम राईकाे भूमिका सन्देहास्पद छ । उनलाई पनि धेरै ठूला घाेटाला घटनामा छानविन गर्न आवश्यक देखिन्छ ।
क्याटेगोरी : समाचार












प्रतिक्रिया