Techie IT
KTM Post
बुधबार, २४ असार, २०८३

सिरहामा १२ हजार घुससहित सब डिभिजन वन कार्यालयका प्रमुख रंगेहात पक्राउ


सिरहा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयले सिरहाको सब डिभिजन वन कार्यालय बन्दिपुरका प्रमुख वन अधिकृत रामकेवल राय यादवलाई १२ हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ।

आयोगका अनुसार कर्जन्हा नगरपालिका–२ मा सञ्चालित एक काठ उद्योगका सञ्चालकसँग विभिन्न स्थानबाट ल्याइएका तीन ट्रक काठको व्यवस्थापन तथा सहजीकरण गरिदिने भन्दै वन अधिकृत यादवले प्रतिट्रक ४ हजार रुपैयाँका दरले कुल १२ हजार रुपैयाँ घुस मागेका थिए।

सेवाग्राहीको उजुरीपछि अख्तियारले आवश्यक निगरानी तथा अनुसन्धान अघि बढाएको थियो। सोही क्रममा कर्जन्हा नगरपालिका–४ बाट सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा यादवलाई रंगेहात नियन्त्रणमा लिइएको आयोगले जनाएको छ।पक्राउपछि घटनास्थलमा मुचुल्का तयार गर्ने, घुस रकम बरामद गर्ने तथा आवश्यक प्रमाण संकलन गर्ने कानुनी प्रक्रिया अघि बढाइएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका प्रवक्ता प्रकाश पोखरेलका अनुसार प्रारम्भिक कानुनी प्रक्रिया पूरा भएपछि थप अनुसन्धानका लागि यादवलाई आयोगको बर्दिबास कार्यालय लगिनेछ।

आयोगले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ। साथै, सार्वजनिक सेवामा हुने भ्रष्टाचार तथा घुसखोरी नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अनुरूप कारबाहीलाई निरन्तरता दिइने पनि जनाएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट